हिमालयन रिइन्स्योरेन्सका आइपीओधनी २९१ रूपैयाँभन्दा बढी नाफामा

२०८० माघ १, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आईपीओ खरीद गरेका लगानीकर्तालाई पाँच कारोबार दिनमानै २९१ रूपैयाँ नाफा भएको छ । पुस २३ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार सुरु भएको यस कम्पनीको हालसम्म पाँच दिन शेयर कारोबार भएको छ । कम्पनीको पहिलो शेयर कारोबार प्रतिकित्ता ३०९ रूपैयाँ २० पैसामा भएको थियो । धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तोकेको अधिकतम मूल्यरेञ्जमै कम्पनीको पहिलो शेयर कारोबार भएको हो ।

पहिलो कारोबार दिनदेखिनै कम्पनीको शेयरमूल्य आईपीओमूल्य भन्दा माथी रहेको थियो । पाँचौ कारोबार दिनसम्म आईपुग्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४९७ रूपैयाँ ८० पैसा कायम भएको छ । कम्पनीको आईपीओ प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत् १०६ रूपैयाँ थप गरी प्रतिकित्ता २०६ रूपैयाँमा खरीद गरेका लगानीकर्ता यतिबेला उत्साहित अवस्थामा रहेका छन् । पहिलो कारोबार दिनदेखिनै उच्च खरीद मागका कारण कम्पनीको शेयरमूल्य निरन्तर बढ्दो क्रममानै रहेको देखिन्छ । आईपीओ १० कित्ता हात पर्न भाग्य भरोसा रहनुपर्ने अवस्थामा कम्पनीको आईपीओ भने ४० कित्तासम्म बाँडफाँट भएको थियो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ विक्री गरेको हो । तोकिएको अवधिभित्र १५ लाख ७३ हजारभन्दा बढीले आवेदन दिएका थिए ।

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी १० अर्ब रूपैयाँको ३० प्रतिशतका दरले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओ मध्ये १० प्रतिशत दरको ३० लाख कित्ता आईपीओ भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ६ लाख कित्ता कम्पनीका कर्मचारीहरूमा १५ लाख कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरी बाँकी २ करोड ४९ लाख कित्ता भने सर्वसाधारणको भागमा परेको हो ।

अधिकृत पूँजी २१ अर्ब रूपैयाँ रहेको कम्पनीको जारी पूँजी १० अर्ब रूपैयाँ रहेको छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी ७ अर्ब रूपैयाँ रहेको कम्पनीले सर्वसाधारणमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि चुक्तापूँजी १० अर्ब रूपैयाँ कायम भएको छ । हाल संस्थापक तर्फ ७० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत शेयर विक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय