काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडलाई बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । सेबोनले पुस १९ गते कम्पनीलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति दिएको हो ।
यस कम्पनीले आइपीओ निष्कासन गर्न बोर्डमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । लामो समयपछि कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ ।



अनुमति पाएसँगै पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सार्वजनिक निष्कासन हुनेछ । कम्पनीको शेयरको ४० प्रतिशतले हुने ७ लाख ७० हजार ६४६ कित्ता शेयर बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरिनेछ ।
कम्पनीको शेयरको आशय मूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म छ । यही रेन्जमा रहेर योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिनु पर्नेछ । धितोपत्र पूर्ण रूपमा विक्री हुँदा कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गर्नुपर्छ । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छूट दिई धितोपत्र निष्कासन गर्नुपर्ने छ ।
योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरिएको शेयर बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष हुन् । कम्पनीको औद्योगिक कारखाना सुनसरीको दुहबी र खनारमा छ । कम्पनीले अन्तरराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलिक यार्नलगायत सिउने धागो विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।
कम्पनीले आफ्ना उत्पादन टर्की र भारतमा निर्यात गर्दै आएको छ । २०५१ सालदेखि सञ्चालनमा रहेको यस कम्पनीले हाल ४३ सय बढीलाई रोजगारी दिएको छ ।
रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने दोस्रो कम्पनी बनेको छ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न अनुमति पाउने पहिलो कम्पनी हो ।








