काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि यही असार ४ गते बुक क्लोज गर्दैछ । सरकारले भोलि (असार ३ गते) सार्वजनिक बिदा दिने घोषणा गरेकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले असार १८ गते पर्साको वीरगञ्जस्थित होटल भिष्वामा २३ औं र २४ औं वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरु हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको २१ दशमलव ०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीहरूको तर्फबाट ३ जना सञ्चालक, सर्वसाधारण समूहका शेयरधनीहरूको तर्फबाट ३ जना तथा १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्ने बताइएको छ ।











