पुन: २००० विन्दुमुनि नेप्से, किन निराश भए लगानीकर्ता ?

२०८० आश्विन १४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बजार पुन: २ हजार विन्दुमुनि झरेको छ । विगत पाँच कारोबार दिनमा २ हजार विन्दुमाथि रहेको नेप्से आइतवार भने २ हजारविन्दु मुनि झरेको हो ।

साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक १ दशलमव ६५ प्रतिशत घटेको छ । यससँगै परिसूचक १ हजार ९७१ दशमलव १० विन्दुमा झरेको हो ।

यस दिन २८४ धितोपत्रको ६७ लाख २३ हजार ४ सय कित्ता शेयर ८२ हजार ८ सय पटकमा रू. १ अर्ब ८३ करोड बराबरको शेयर कारोबार भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १ दशमलव ४४ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ६६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ४१ प्रतिशत घटेको हो ।

शेयर बजार सुधारका लागि नीतिगत व्यवस्था परिमार्जन हुने अपेक्षामा लगानीकर्ता रहे पनि सरकार तथा राष्ट्र बैंकबाट यसमा सुधारको निर्णय नहुँदा आइतवार बजारमा नकारात्मक प्रभाव परेको जानकारहरू बताउँछन् । यससँगै महँगो ब्याजदरका कारण पनि बजार प्रभावित भएको उनीहरू बताउँछन् ।

बजार सुधारका लागि लगानीकर्ताको मनोबल उच्च हुन जरुरी रहेको उनीहरू सुझाउँछन् ।

आइतवार कारोबारमा आएका धितोपत्रमध्ये सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४२९ पुगेको छ । त्यस्तै पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर मूल्य ६ दशमलव ०७ प्रतिशत वृद्धि भएर रू. २९७ पुगेको छ ।

आइतवार पाँच धितोपत्रको मूल्यमा नेगेटिभ सर्किट लागेको छ । सनराइज फर्स्ट म्युचुअल फण्ड, अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र सिटीजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतका दरले घटेको हो ।

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सिटिजन लाइफ इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू. १४ करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४५७ दशमलव २० कायम भएको छ ।

यस कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आजदेखि नै आएको हो । कम्पनीको शेयर माथिल्लो मूल्य रेञ्जमा ओपन भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा एनआईसी एशिया बैंक छ । कम्पनीको रू. ९ करोड ३५ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।

कारोबारमा आएका १३ समूहगत परिसूचक सबै घटेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक ३ दशमलव ३२ प्रतिशत घटेको छ । त्यस्तै दोस्रोमा वित्त समूहको परिसूचक २ दशमलव १७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय