सिमकोट बजारकी सुनमती सिंहले बजारमा खाना पकाउने ग्यासको मूल्य घटेको जानकारी दिइन्। यसअघि ग्यास भरेको प्रतिसिलिण्डर चार हजार रुपैयाँ तिर्ने गरेकामा हाल त्यो मूल्य घटेर प्रतिसिलिन्डर तीन हजार चार सय रुपैयाँ भएको छ। यसले गर्दा उपभोक्तालाई सहज भएको भन्दै सिंहले ग्यासको प्रयोगकर्ता बढेको बताइन्।
जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिका– ६ को गिउसीसम्म राष्ट्रिय सडक सञ्जाल जोडिएपछि ग्यासको मूल्य घटेको हो। सो स्थानबाट खच्चडमा ढुवानी भएर माथिल्लो हुम्लामा ग्यास ल्याउने गरिएको छ।



ग्यासको ब्यापार गर्दै आएका खुमबहादुर रावतले पछिल्लो समय ग्यासको मूल्य घटेको बताए। ग्यास भर्दा प्रतिसिलिण्डर पाँच सय रुपैयाँले घटेको भन्दै उनले सिलिण्डरसहित पाँच हजार दुई सय रुपैयाँमा बिक्री हुने गरेको बताए। जबकि यसअघि ग्याससहितको सिलिण्डर उपभोक्ताले किन्दा ६ हजार पाँच सयसम्म पर्ने गथ्र्यो।








