काठमाडौं– जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ६१ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । बीमा प्राधिकरणका अनुसार मंसिरसम्म १४ जीवन र तीन लघु जीवन बीमा कम्पनीले ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । यो प्रिमियम रकम गत आवको पाँच महिनाको तुलनामा ३.७५ प्रतिशत बढी हो ।
गत आर्थिक वर्ष मंसिरसम्म जीवन बीमा कम्पनी (लघु बीमा कम्पनी बाहेक) ले ५९ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । जीवन बीमा कम्पनीले यो वर्ष दुई अर्ब २४ करोड रुपैयाँले व्यवसाय बढाएका हुन् । यो अवधिमा ठूला जीवन बीमा कम्पनीले ६१ अर्ब ७४ करोड बीमा शुल्क संकलन गर्दा लघुबीमा कम्पनीको व्यवसाय एक करोड रुपैयाँमा सीमित छ । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनामा मात्रै जीवन बीमा कम्पनीहरूले करिब साढे २ अर्ब रुपैयाँको व्यवसाय गरेका छन् ।



प्राधिकरणको तथ्यांक अनुसार यी कम्पनीहरूले मंसिर महिनामा चार लाख ३३ हजार ६१८ वटा बीमा पोलिसी बिक्री गरी दुई अर्ब ३४ करोड ९५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका हुन् । त्यस्तै, मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरूले एक करोड ३७ लाख ५४ हजार ४८३ वटा बीमा पोलिसी बिक्री गरी कूल ६१ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमाशुल्क नेपाल लाइफले नै आर्जन गरेको छ । कम्पनीले एक महिनामा ४७ करोड ५९ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको हो । प्रथम बीमाशुल्क बढी आर्जन गर्नेहरूमध्ये दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ३६ करोड ११ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । यस्तै तेस्रोमा हिमालय लाइफ रहेको रहेको छ । कम्पनीले १८ करोड ५० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, सूर्यज्योति लाइफले १६ करोड १९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १५ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले १४ करोड २४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १३ करोड ९८ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १३ करोड ३० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले १३ करोड १० लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १० करोड ४ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।
रिलायबल नेपाल लाइफले १० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमाकम्पनीले ९ करोड ८९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ९ करोड ८६ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । र प्रभु महालक्ष्मी लाइफले ६ करोड ७३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । अर्थतन्त्रमा मन्दीका कारण समग्र वित्तीय क्षेत्रको व्यवसायमा सुधार आउन सकेको छैन । त्यसको असर बीमा व्यवसायमा समेत परेको जानकारहरू बताउँछन् ।








