सागर डिस्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सम्झौतापत्रमा सागर डिस्टिलरीका तर्फबाट अध्यक्ष सन्दीप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सर्वसाधारण जनताको सहभागिता बढाउनका लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले आईपीओ निकाल्नेछ । अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीर्कती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।



नेपालमा गुणस्तरीय मदिरा उत्पादन र बिक्रीवितरण गर्न विसं. २०६९ सालमा सागर डिस्टिलरीको स्थापना भएको हो । कम्पनीको फ्याक्ट्री नवलपुरको देवचुलीमा रहेको छ । उपभोक्ताको स्वाद र स्वास्थ्यलाई उच्च महत्व दिँदै मदिराजन्य उत्पादनहरु तयार पार्ने गरिएको कम्पनीले जनाएको छ । गुणस्तरीयता नै सफलताको प्रतीक रहनेमा सागर डिस्टिलरी विश्वास राख्दछ ।
खासगरी कम्पनीबाट उत्पादित ब्रान्डहरु रोयल ब्लु, ग्रे उल्फ, बेरिज एन्ड ब्लुजले गुणस्तरसँग कुनै सम्झौता नगर्ने अठोटलाई प्रतिबिम्बित गर्ने सागर डिस्टिलरीले दाबी छ। ‘रोयल ब्लुले ह्विस्कीको अत्याधिक राम्रो स्वाद प्रस्तुत गर्दछ भने ग्रे उल्फ प्लाटिनम फिल्टरसहितको लोकप्रिय भोड्का हो, जुन प्रतिस्पर्धीमूलक मूल्यमा बजारमा उपलब्ध छ’, कम्पनीले भनेको छ ।








