गरिमा बैंक र टान गण्डकीबीच सम्झौता

२०८१ बैशाख ९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सम्झौता भएको छ । सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियतसहितको सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार टानका सदस्यहरूलाई बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियम अनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ ।

साथै ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने पनि विज्ञप्तिमा उल्लेख छ । यी सेवाहरुले टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यले आफुलाई पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिनसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्झौता पश्चात टानले बैंकलाई बैंकिंग पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रीय संगठनसँग काठमाडौंमा यसै किसिमको सम्झौता गरिसकेको छ । लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय