१७ वाणिज्य बैंकले घटाए ब्याजदर

२०८० चैत्र १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं– फागुनको तुलनामा धेरै बैंकले ब्याजदर चैतमा घटाएका छन् । बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार १७ वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ । बाँकी दुई वाणिज्य बैंकले भने फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यी सबै बैंकको ब्याजदर औषतमा ०.५०४२ प्रतिशत विन्दु घटेको छ । फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशत विन्दु रहेको २० बैंकको अधिकतम औषत ब्याजदर चैतमा घटेर ७.२५ प्रतिशत विन्दुमा झरेको छ । १७ वाणिज्य बैंकले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो । यता बैंकहरूको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ ।

फागुनमा ५.७४ प्रतिशत विन्दु रहेको बैंकहरूको संस्थागत निक्षेपको अधिकतम औषत ब्याजदर चैतमा ०.२६ प्रतिशत विन्दु बढेर ६ प्रतिशत विन्दु पुगेको छ । एनआईसी एशिया बैंकले चैतमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.५४ प्रतिशतका दरले ब्याज दिने भएको छ । फागुनमा बैंकको यस्तो ब्याजदर ८ प्रतिशत थियो । त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्‍याएको छ ।

सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट र एनएमबि बैंक छन् । दुबै बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशत विन्दु घटाएका छन् भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशत विन्दु घटाएका छन् । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

यी दुई बैंकले यस्तो खातामा चैतमा पनि ७.५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन् । यद्यपि, यी दुई बैंकको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशत विन्दु बढेको छ । वाणिज्य बैंकमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.६६१ प्रतिशतका दरले ब्याज दिने भएको छ भने संस्थागतमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ ।

बैंकहरूले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकताअनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वत: घट्छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशतमात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकले लिने सबै प्रकारका निक्षेपको ब्याजदर घटेपछि समग्रमा आधार दर नै घट्न जान्छ र कर्जाको ब्याजदर पनि घट्नेछ ।Karobar

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय