काठमाडौं– अर्थतन्त्रको सुस्तता र खराब कर्जा बढोत्तरीको चपेटामा परेका बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) निराशाजनक देखिएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार अधिकांशको ईपीएस घटेको हो ।
बैंकको कुल नाफालाई कुल सेयर संख्याले भाग गरेर प्रतिसेयर आम्दानी निकालिन्छ । नाफा नै घटेपछि उनीहरूको प्रतिसेयर आम्दानी पनि घट्नु स्वाभाविक हो । पुुससम्ममा बैंकहरुको नाफा १० प्रतिशतले घटेको छ ।



वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी एनआईसी एशियाको प्रतिसेयर आम्दानी घटेको छ । चालु आवको दोस्रो त्रैमासमा एनआईसीको प्रतिसेयर आम्दानी ३१.१८ रुपैयाँले घटेको छ । दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार गत वर्षको पुससम्ममा एनआईसी एशिया बैंकको प्रतिसेयर आम्दानी ५६.७७ रुपैयाँ पुगेको थियो । तर, यो वर्ष पुसमा आउँदा ३१.१८ रुपैयाँले घटेर २५.५९ रुपैयाँमा झरेको छ । यो निकै फराकिलो गिरावट हो । अन्य कुनै पनि वाणिज्य बैंकको प्रतिसेयर आम्दानी यो हिसाबले घटेको छैन ।
एनआईसी एशियाको ईपीएसमा ३१ रुपैयाँभन्दा बढीले गिरावट आउँदा धेरै घट्नेमध्ये दोस्रोमा रहेको राष्ट्रिय वाणिज्य बैंकको १० रुपैयाँले मात्र कमी आएको छ । कतिपय बैंकको एकाध रुपैयाँले मात्र ईपीएस घटेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आवमा एनआईसीको नाफा ४१.८४ प्रतिशतले खुम्चिएको छ । नाफामा ठूलो गिरावट आउने बैंकहरुमध्ये एनआईसी एशिया पनि एक हो । नाफामा उच्च गिरावट आएकै कारण यसको असर प्रतिसेयर आम्दानीमा परेको हो ।
यो वर्ष अधिकांश बैंकको ब्याज आम्दानीमा गिरावट आएको छ । कर्जा नउठ्दा खराब कर्जा बढेको छ । त्यसका लागि प्रोभिजनिङ बढाउनुपर्ने बाध्यता परेको छ । यी सबै कारण नाफा खुम्चिएकाले अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको हो । कुल वाणिज्य बैंकमध्ये १५ वटाको प्रतिसेयर आम्दानी घटेको छ ।
यस्तै, चालु आवको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी २५.७८ रुपैयाँ छ । गत आवको सोही अवधिमा यो बैंकको प्रतिसेयर आम्दानी ३५.७६ रुपैयाँ थियो । नेपाल बैंकको प्रतिसेयर आम्दानी ७.९ रुपैयाँ घटेको छ । नाफामा आएको संकुचनका कारण बैंकको प्रतिसेयर आम्दानी घट्न पुगेको हो । गत आवको पुस मसान्तसम्ममा १५.९३ रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी चालु आवको सोही अवधिमा ८.०३ रुपैयाँमा झरेको छ ।
गत आवको पुससम्मको तुलनामा चालु आवको सोही अवधिमा नेपाल एसबिआई बैंकको प्रतिसेयर आम्दानी ७.३५ रुपैयाँले घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा यस बैंकको प्रतिसेयर आम्दानी २३.९६ रुपैैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १६.६९ रुपैयाँमा झरेको छ । यस्तै, चालु आवको दोस्रो त्रैमासमा ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँले घटेर ११.३१ रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा यस बैंकको प्रतिसेयर आम्दानी १८.०७ रुपैयाँ थियो ।
एनएमबि बैंकको प्रतिसेयर आम्दानी ५.०६ रुपैयाँले घट्दा कुमारी बैंकको ५.०६ रुपैयाँ र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५ रुपैयाँले घटेको छ । चालु आवको दोस्रो त्रैमासमा यी बैंकहरूको प्रतिसेयर आम्दानी क्रमशः १४.९८ रुपैयाँ, ६.६१ रुपैयाँ र १०.६ रुपैयाँ छ ।
चालु आवको दोस्रो त्रैमासमा प्रभु बैंकको प्रतिसेयर आम्दानी ६.१२ रुपैयाँ हुँदा सानिमा बैंकको १६.८१ रुपैयाँ र माछापुच्छ्रे बैंकको १७.५२ रुपैयाँ छ । नबिल बैंकको २३.७४ रुपैयाँ प्रतिसेयर आम्दानी रहँदा सिटिजन्स बैंकको ११.०२ रुपैयाँ छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी ३६.३२ रुपैयाँ रहँदा एभरेष्ट बैंकको २९.१२ रुपैयाँ, सिद्धार्थ बैंकको १६.१८ रुपैयाँ छ ।
लक्ष्मी सनराइज बैंकको प्रतिसेयर आम्दानी ९.१४ रुपैयाँ छ । बाँकी बैंकहरूले गत आवको दोस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा प्रतिसेयर आम्दानी बढाएका छन् ।
हिमालयन बैंकको ०.२६ रुपैयाँ बढेर १३.८९ रुपैयाँ पुगेको छ । यस्तै, प्राइम कमर्सियल बैंकको ५.४७ रुपैयाँ बढेर २२.५ रुपैयाँ र कृषि विकास बैंकको १३.३१ रुपैयाँ बढेर १७.७३ रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी घट्नु भनेको बैंकका सेयरधनीलाई दिइने क्षमता घट्नु हो, जुन चिन्ताको विषय भएको पूर्व बैंकर भुवन दाहाल बताउँछन् । अर्थतन्त्रको सुस्तताको प्रतिबिम्ब बैंकका सूचकमा देखिएको उनले बताए । यसकारण प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको उनको भनाइ छ । ‘अर्थतन्त्रमा चलायमान बनाउनेतर्फ सबै मिलेर अगाडि बढ्दा बैंकको सूचकहरूमा पनि क्रमशः सुधार आउँछ,’ उनले भने ।
प्रतिसेयर आम्दानी जति धेरै भयो, त्यति राम्रो मानिन्छ । अर्थतन्त्रको सुस्तताका कारण समग्र सूचकमा असर गर्दा बैंकहरूको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको हो । यसलाई सेयर बजारका लगानीकर्ताले महत्वका साथ हेर्ने गरेका हुन्छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले प्रतिसेयर आम्दानी सेयर बजारमा लगानी गर्नेहरूले बढी महत्वका साथ हेर्ने सूचक रहेकाले यसको घटबढले बजारलाई प्रभाव पार्ने बताए । ‘प्रतिसेयर आम्दानी घट्नु भनेको कम्पनीको पर्फर्मन्स घट्दै गएको देखिनु हो भने बढ्नु भनेको राम्रो हुनु हो,’ उनले भने ।Karobar








