नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बराबरको विकास ऋणपत्र २०८६ ‘ज’ जारी गर्ने भएको छ ।
राष्ट्र बैंकले भदौ ११ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । यो ऋणपत्र भदौ १० गते बोलकबोल मार्फत बिक्री गरिनेछ ।
यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।
ऋणपत्रको ब्याजदर पनि बोलकबोल मार्फत हुनेछ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ । ऋणपत्र २०८६ भदौ ११ गते परिपक्व हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।











