प्लास्टिकका दाना भन्दै करोडौंका काजु र कपडा आयात

२०८० भाद्र १०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्लास्टिकका दाना भन्दै आयात गरिएका दुई ट्रकमा करोडौं मूल्यका कपडा, काजुलगायतका सामान भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ ।

शुक्रबार भारतबाट आयात भएका दुई ट्रकमा भैरहवा भन्सार प्रवेश गर्दा भन्सार गेटमा प्लास्टिकका दाना भनी स्वघोषणा गरिएको थियो । स्वघोषणा गरिएको भन्दा फरक सामान ट्रकमा रहेको पाइएपछि भैरहवा भन्सार कार्यालयले सामानसहित दुईवटा ट्रकलाई शुक्रबार नै नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत युवराज भट्टराईले बताए ।

नियन्त्रणमा रहेका ट्रक एउटा नेपाली र अर्को भारतीय नम्बर प्लेटको रहेको छ । भन्सार प्रवेश गर्दा दुईवटै ट्रकले गेटमा प्लास्टिकका दाना भनेर स्वघोषणा गरेका थिए । विशेष सूचनाका आधारमा भन्सारले जाँच गर्दा ट्रकमा तयारी तथा थानका कपडा, काजुलगायतका खाद्य सामान रहेको थियो । फरक सामान प्रमाणीत भएलगत्तै कार्यालय परिसरबाट दुईवटै ट्रक भन्सार कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

ना ५ ख ३३५ नम्बरको नेपाली ट्रक र युपी ५३ जीटी ०५७८ नम्बरको भारतीय ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिइएको र चेकजाँच गर्दा स्वघोषणा गरिएको भन्दा फरक सामान रहेको थियो । दुवै ट्रकमा रहेको सामान करिब २ करोडभन्दा बढी मूल्यको रहेको भन्सार कार्यालयको अनुमान छ । ती दुबै ट्रकले भारतबाट आउँदा भारतीय भन्सारमा कपडा भनी भन्सार पास गरेका थिए । नेपालमा भने गेटमै प्लास्टिकको दाना भन्दै भित्र्याएका थिए । राजस्व छली गर्न प्लास्टिकको दाना भनेका थिए । दुवै ट्रक नियन्त्रणमा रहे पनि ट्रकका चालक भने फरार भएका छन् ।

सामानको मूल्यांकन गर्ने काम अहिले भइरहेको र यसबारे सूक्ष्म अनुसन्धान भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले बताए । यसअघि पनि यसैगरी भन्सार छली गरेर बाहिर निस्कन लागेका दुईवटा ट्रक भन्सारले नियन्त्रणमा लिएर कारबाही गरेको थियो । ट्रकमा ल्याइएको सामान कसले ल्याएको र कहाँ लगिँदै थियो भन्नेबारे केही खुलेको छैन । आयात भएका सामानको प्रज्ञापन भर्न बाँकी रहेकाले कसले आयात गरेको हो र कहाँ लगिँदै थियो भन्ने खुलेको छैन ।

यद्यपि प्लास्टिकको दाना आयात भनिएकाले कुन पार्टीले आयात गरेको हो, अनुसन्धानबाट खुल्ने देखिएको छ । विभिन्न समयमा यस किसिमका घटनाहरू भन्सारमा दोहोरिँदै आएका छन् । ठूलै संगठित गिरोह यस्ता कार्यमा सक्रिय रहेको बुझिएको छ । एकै प्रज्ञापनबाट बारबार सामान आयात एवं जाँचपास र भन्सार पास गराउने, आयात एक नामको वस्तु अर्कै नामको आयात, बिनाप्रज्ञापन भन्सार पासजस्ता कार्य हुन आउँदा भन्सार प्रशासन बारम्बर विवादमा आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय