उत्पादन घटेपछि भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगायो, नेपालमा पनि मूल्य बढ्ने

२०८० भाद्र ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । उत्पादन घटेकोले आन्तरिक बजारलाई स्थिर राख्न निर्यातमा ४० प्रतिशत कर लगाएको वित्त मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा पछिल्लो हप्ता मात्रै खुद्रा बजारमा प्याजको भाउ झन्डै ६० प्रतिशतले बढेर किलोको ५० भारुसम्म पुगेको छ । यसलाई नियन्त्रण गर्न भारत सरकारले आउँदो डिसेम्बर अन्तिमसम्मका लागि निर्यातमा कर लगाएको हो ।

भारतले प्याज निर्यातमा पहिलोपल्ट कर लगाएको हो । विश्वमा सबैभन्दा धेरै प्याज निर्यात गर्ने देश भारतले गएको अप्रिल १ देखि अगस्ट ४ सम्ममा नौ लाख ७५ हजार टन प्याज निर्यात गरेको छ । यसअघि भारतीय प्याज अरू निर्यातकर्ता देशहरू पाकिस्तान, चीन र इजिप्टको प्याज भन्दा सस्तो थियो । तर अब महँगो भएकोले निर्यात कम हुने र स्थानीय बजारमा भाउ बढ्नबाट रोकिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले प्याज निर्यातमा कर लगाउँदा नेपालमा पनि भाउ बढ्ने व्यवसायीहरू बताउँछन् । आज आइतवार कालीमाटी तरकारी बजारमा भारतीय प्याज औसतमा किलोको ६१ रुपैयाँमा बिक्री भइरहेको छ । नेपालले यसअघि नै प्याज आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइसकेको छ । अब भारतबाट प्याज आयात गर्दा भारतमा ४० प्रतिशत निर्यात कर र नेपालमा १३ प्रतिशत भ्याट तिर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय