भारतीय बजारमा नेपाली कटहरको माग बढ्यो

२०८१ जेष्ठ २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जनकपुरधाम– नेपाली रुख कटहर भारतीय बजारमा लोकप्रिय हुन थालेपछि ग्रामीण क्षेत्रका बेरोजगार युवा यसको व्यापार गरी आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो, पुष्टकर र खानमा रुचिकर भएकाले यसको माग सीमावर्ती भारतीय बजारमा अत्यधिक रहेको भारतीय व्यापारीहरू बताउँछन् ।

सीमावर्ती भारतीय बजार हरिनेका कटहर व्यवसायी रामाशंकर कामत भन्छन्, नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको र यसले राम्रै दाम दिने भएकाले यसको व्यापार गर्ने गरेको छु । खासगरी वैशाखदेखि साउनसम्म चार महिना कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा करिब पाँच सय युवा संलग्न रहेका छन् ।

धनुषा जिल्लामा ४२८ हेक्टर क्षेत्रफलमा कटहर खेती गरेकोमा चार हजार ४६७ मेट्रिक टन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका वागवानी विकास अधिकृत प्रदीपकुमार यादवले बताए । प्रायः गरी अहिलेको मौसममा युवा साइकलमा कटहर राखी सीमावर्ती भारतको जयनगर, उमगाँव, बासोपटी, हरिने, हरलाखी, मधुबनी, दरभगाजस्ता बजारसम्म लगेर बिक्री गर्ने भएकाले अत्यधिक मुनाफा गर्ने गरेको उनीहरू बताउँछन् ।

आर्थिक अभावका कारण गर्जो टार्न धनुषाको गाउँगाउँबाट कटहर किनेर बेच्न भारत लगे पनि सीमा क्षेत्रमा रहेको सुरक्षाकर्मीले नजराना लिएर मात्र जान दिन गरेको फुटकर व्यापारीको गुनासो छ । प्रतिहेक्टर २० देखि २५ मेट्रिक टनसम्म उत्पादन हुने गरेको धनुषा जिल्लामा यसवर्ष कटहर राम्रै फलेको देखिन्छ । खासगरी जिल्लाको उत्तरी क्षेत्रमा यसको उत्पादन अत्यधिक मात्रामा हुने गरेकाले त्यहींबाट कटहर किनेर भारतीय बजारमा बेच्ने गरेको अर्का व्यापारी राहुल साहले बताए ।

सरकारले कटहर खेतीतर्फ किसलाई प्रोत्साहन गर्न यसको बिरुवा निःशुल्क उपलब्ध गराउनु पर्ने किसानको माग छ । बेरोजगार भई बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसायीतर्फ अन्य युवा पनि आकर्षित भई आर्थिक लाभ लिँंदै आइरहेका छन् । सीमावर्ती भारतीय बजारमा कटहरको माग बढ्न थालेकोले प्रदेश तथा स्थानीय सरकारले यसको खेतीका लागि पकेट प्याकेज कार्यक्रम ल्याउनु पर्ने किसानको माग छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय