बाख्रापालनमा व्यावसायिक बन्दै किसान

२०८१ बैशाख १९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

दोलखा– दोलखाको तामाकोसी गाउँपालिका–७ ट्याङथलीका ज्याङलाण्डु शेर्पा आजभोलि बाख्राको खोर बनाउन व्यस्त छन् । उनले घरभन्दा केही पर जंगलछेउमै रहेको आफ्नो बाँझो जग्गामा बाख्राको खोर बनाउँदैछन् । परम्परागत खोरभन्दा आधुनिक खोरबाट राम्रो आम्दानी हुने र बाख्रा पनि स्वस्थ हुने हुँदा खोरगोठ सुधारमा उनी लागेका हुन् ।

खोर बनाउँदा बनाउँदै भेटिएका शेर्पाले भने, ‘माउ बाख्रा, साना पाठापाठी, बीउ बोका, गर्भवती बाख्रा बस्ने अब छुट्टाछुट्टै कोठा तयार हुँदैछन् ।’ खोरमा मलमूत्र सजिलै तला जाँने गरी कम्तीमा चार फिट उचाइ पिलर बनाएर खोर तयार हुँदैछ । बाख्रालाई घाँस र दाना पनि राख्ने गरी तयार गरिएको छ । ज्याङलाण्डु गाउँमा सबैभन्दा बढी बाख्रा पाल्ने किसान हुन् । ८० वटासम्म बाख्रा पाल्दै आएका उनले अब नयाँ खोर तयार भएपछि कम्तीमा एक सय वटा पाल्ने योजना छ ।

स्थानीयस्तरमै पाउने काठ प्रयोग गरी कम्तीमा तीन लाख एउटा खोरका लागि लगानी गर्दै छ । अब बाख्रा थप्नका लागि बैंकसँग सहुलियत ऋणको प्रक्रिया पनि थालेका छन् । ज्याङलाण्डु जस्तै ट्याङथलीका टेसे शेर्पा पनि नयाँ खोर तयार गर्दैछन् । २० वटा बाख्रा पल्दै आएका टेसेले पनि बाख्रा बढाउने सोचका साथ नयाँ खोर तयार गरेका हुन् । दुवै शेर्पाले आधुनिक खोर तयारीको तालिमपछि नयाँ गोठ निर्माणमा लागेका हुन् । २८ घर रहेको ट्याङथलीमा अधिकाँश शेर्पा र सुनुवारको बसोबास छ ।

यी गाउँका दुई किसान प्रतिनिधि पात्रमात्र हुन् । नजिक जंगल, खाली जग्गा भएकाले पनि अधिकाँश किसान व्यावसायिक बाख्रापालनमा जुटेका छन् । साविक हावा गाविसको लेकाली क्षेत्र भनेको अन्न उब्जानी नहुने र आलुबाट अन्न साटेर जीविकोपार्जन गर्नुपर्ने बाध्यता रहेको यो गाउँका सबै किसान व्यावसायिक भएका छन् । वर्षे आलु यहाँको मुख्य खेती हो । आलु सोझै काठमाडौं पुग्छ । पाखामा लोडसल्ला खेती पनि बढ्दैछ ।

खेतीपाती र बाख्रापालनबाट राम्रो आम्दानी हुँदै गएपछि रोजगारीका लागि विदेशिने युवा कम रहेको स्थानीय बताउँछन् । तामाकोसी गाउँपालिकाले पशुपालन र कृषि क्षेत्रको विकासका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको छ । साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले उन्नत जातका बोका ल्याएर नश्ल सुधार, घाँसखेती विस्तार, बंगुरपालन र खोर गोठ सुधारको काम अगाडि बढाएको छ । तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले साझेदारी कार्यक्रमले पशुपालनमा व्यावसायीककरण हुँदै जाने संकेत देखिएको बताए ।

उत्पादन बढाएर बजारीकरणमार्फत किसानको आर्थिक जीवन सहज बनाउने उनले बताए । दोलखाका दुई स्थानीय तहका किसानले बैंकबाट सहुलियत कर्जा पाउने भएका छन् । कृषि उद्यमीका लागि सहुलियत कर्जा प्रवाह गर्नका लागि तामाकोसी र मेलुङ पालिकाका उद्यमी कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नका लागि सामूहिक रूपमा सम्झौता नै गरेका छन् । कृषि र पशुपालनमा लागेका किसानलाई व्यावसायिक र उद्यमी बनाउनका लागि दुवै स्थानीय तहको पहलमा बैंकसँग सम्झौता गरेका हुन् ।

ती गाउँपालिकाले पालिकाभित्र रहेका उद्यमी कृषकलाई सहुलियतपूर्ण ऋण प्रवाहका लागि प्रभु, लक्ष्मी सनराइज र हिमालयनसँग दुवै गाउँपालिकाले छुट्टाछुट्टै सम्झौता गरेका छन् । कर्जाका लागि तामाकोसी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसी, मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङ र तीनवटै बैंकका दोलखामा रहेका शाखा प्रमुखबीच हस्ताक्षर भएको छ । किसानलाई लगानी अभाव हुन नदिन बैंकसँग सहुलियतपूर्ण ऋणको सहजीकरण गरिदिएको छ ।

हालसम्म ६ जना किसानले ५८ लाख सहुलियत ऋण लिइसकेको साझेदारी कार्यक्रम सञ्चालनको सहजीकरण गर्दै आएका असल शासन समन्वय समितिका अध्यक्ष दिपक बस्नेतले जानकारी दिए । धेरै किसान अझै प्रक्रियामै रहेकाले सहुलियत ऋण लिनेको संख्या बढ्ने उनले बताए । गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी उत्पादन एवं रोजगारी बढाउन, देशभित्रै रोजगारी सिर्जना गर्न, विदेशबाट फर्केका युवाको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्नेभन्दै तामाकोसी गाउँपालिका र मेलुङ गाउँपालिकाले नौ महिनाअघि तीनवटा बैंकसँग सम्झौता गरेका छन् ।

बैंकिङ प्रक्रिया सहजीकरण गर्नका लागि छुट्टै कर्मचारीको समेत व्यवस्था गरेको छ । तामाकोसी गाउँपालिकाभित्र एक वर्षभित्र ७० वटा बाख्रा र बंगुरको खोर सुधार भएको छ । त्यस्तै ४५ वटा गाई र भैंसीको गोठ सुधार भएको कार्यक्रम संयोजक विदुर अधिकारीले जानकारी दिए । गोठ सुधार हुँदा मलमूत्र संकलनमा सजिलो हुने र सफा हुने घाँस र दाना खुवाउँदा खेर पनि नजाने तामाकोसी–४ का गुणराज श्रेष्ठले बताए । स्थानीयस्तरबाट उत्पादन हुने मासुजन्य, दुग्ध पदार्थ, कृषि उपजको बजार व्यवस्थापन समेत स्थानीय सरकारले नै गर्ने हुनाले किसानलाई गाउँपालिकाले ढुक्कले उत्पादन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय