श्रीलङ्काका विदेशमन्त्री अली साब्रीले इतिहासमा पहिलो पटक यस वर्ष श्रीलङ्कामा पर्यटकको सङ्ख्या २५ लाखभन्दा बढी पुग्न सक्ने बताउनुभएको छ ।
विदेशमन्त्री साब्रीलेसन् २०२४ को जनवरी र फेब्रुअरीमा पर्यटकको आगमनलाई ध्यानमा राखेर लक्ष्य हासिल गर्न सकिने बताउनुभयो । उहाँले सन् २०२३ जनवरीमा श्रीलङ्कामा एक लाख मात्र पर्यटक आएको तुलनामा सन् २०२४ को जनवरीमा यो सङ्ख्या बढेर दुई लाख १० हजार पुगेको जानकारी दिनुभयो । मन्त्री साब्रीका अनुसार फेब्रुअरीमा अहिलेसम्मको आगमन दर अझ धेरै छ ।



तथ्याङ्कअनुसार सन् २०२३ को फेब्रुअरीमा एक लाख सात हजार छ सय ३९ जना पर्यटक आएका थिए भने सन् २०२४ को फेब्रुअरी १ देखि १८ सम्म एक लाख ३८ हजार सात सय ३६ जना पर्यटक आइसकेका छन ।
विदेशमन्त्री साब्रीले श्रीलङ्कामा आर्थिक सङ्कट स्थिर भएको र सुधारको सङ्केत देखिन थालेको बताउनुभयो ।








