अक्सन मार्केट सञ्चालनको माग राख्दै नयाँ ब्रोकर कम्पनीले बुझाए बोर्डसमक्ष ज्ञापन

२०८० भाद्र ५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

धितोपत्र ब्रोकर एशोसिएशन नेपालले नेपाल धितोपत्र बोर्डसमक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्नेलगायत विभिन्न माग राख्दै ज्ञापनपत्र पेस गरेको छ ।

धितोपत्र ब्रोकर एशोसिएशन नेपालको कार्यसमिति सदस्यहरूको उपस्थितिमा अध्यक्ष सागर ढकालले  धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई सो ज्ञापनपत्र पेस गरेका छन् ।

ज्ञापनपत्रमा विशेषगरी भर्खरै नेपाल स्टक एक्सचेन्ज लिमिटेडको सञ्चालक समितिबाट पास भएर धितोपत्र बोर्डसमक्ष पेस भएको धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा रहेका अहिलेको वर्तमान अवस्थामा पूँजीबजारलाई थप नकारात्मक बनाउने तथा बजारको विकास र विस्तारमा बन्देज लगाउने विषयहरूलाई संशोधन गरेर मात्रै  विनियमावली पास गर्न माग गरिएको छ ।

उपरोक्त धितोपत्र व्यवसायी सदस्यता तथा सुपरिवेक्षण विनियमावली, २०७९ मा विनियम २७ को उपविनियम ३ मा ब्रोकरहरूलाई हालको ३ दिन निलम्बन गर्ने व्यवस्थालाई संशोधन गरी ३ दिनबाट १५ दिन बनाउने व्यवस्था छ । यसरी १५ दिनसम्म निलम्बनमा पर्दा त्यसमा आबद्ध लगानीकर्ताहरूलाई यसबाट ठूलो मर्का पर्ने देखिएको हुँदा सो व्यवस्थालाई खारेज गरी कम्पनी वा कम्पनीका पदाधिकारीहरूलाई नगद जरिवाना गर्ने व्यवस्था लागू गर्न माग गरिएको छ ।

यसैगरी सदस्य दलाल कम्पनीमा आबद्धहरूले आफ्नो तथा परिवारको नाउँमा शेयर कारोबार गर्नुपूर्व नेप्सेबाट पूर्वस्वीकृति लिएर मात्रै कारोबार गर्ने व्यवस्था विनियमको अनुसूची ९ मा आचारसंहिता बुँदा १० र ११ बनाई लागू गर्न खोजिएको देखिन्छ । यसलाई पूर्णरूपमा खारेजी गर्न तथा सदस्य दलाल कम्पनीका शेयरधनी, कर्मचारी तथा परिवारहरूलाई आफ्नै कम्पनीबाट मात्रै कारोबार गर्ने व्यवस्था मिलाएमा यसबाट नियामक निकायहरूलाई समेत नियमन तथा सुपरिवेक्षण कार्यमा सहयोग पुग्ने अपेक्षा एशोसिएशनले गरेको छ ।

हाल लगानीकर्ताहरू क्लोज आउटको मारमा परी २० प्रतिशत जरिवाना भुक्तान गर्नुपर्ने बाध्यतामा रहेको हुँदा यसलाई व्यवस्थित गर्न तथा क्लोज आउटको समस्यालाई निराकरण गर्न नियमित बजार अवधिपछि न्यूनतम ३० मिनेटको अक्सन मार्केट सञ्चालन गर्न माग गरिएको छ ।

यसका साथै हाल धितोपत्र बोर्डबाट लागू भएको २ ओटा डिम्याट खातासम्बन्धी निर्देशनलाई खारेजी गर्दै जोखिम व्यवस्थापनको अपरिहार्य औजारको रूपमा रहने डिम्याट खातालाई लगानीकर्ताहरूको आवश्यकता अनुसार खुला छोड्न माग गरिएको छ ।

धितोपत्र बोर्डले हाल सञ्चालनमा रहेको ब्रोकर कमिसनलाई अध्ययन गरिरहेको परिप्रेक्ष्यमा लगानीकर्ताहरूले ब्रोकरको माध्यमबाट विभिन्न नियामक निकायहरूलाई भुक्तान गरिरहेको कमिसनलाई ब्रोकरको कमिसनबाट अलग्गै राखेर ग्राहकहरूको बिलमै कुन निकायलाई के कति कमिसन वा शुल्क लागू गर्ने हो सोसम्बन्धी व्यवस्था गर्न माग गरिएको छ ।

यस्तै गरेर लगानीकर्ताहरूले स्वदेश वा विदेशबाट डिम्याट खाता तथा कारोबार खाता खोल्ने क्रममा भिडियो केवाइसीबाट समेत खाता खोल्न पाउने व्यवस्था लागू गर्न तथा नेपाल सरकार गृह मन्त्रालयबाट लागू भएको राष्ट्रिय परिचयपत्रको केवाइसीलाई धितोपत्र बोर्डको अनुमतिमा हालै सिडिएस एण्ड क्लियरिंग लिमिटेडबाट शुरुवात भएको सेन्ट्रल केवाइसीमा आबद्धता गराउन आवश्यक पहल गरिदिन समेत एशोसिएशनले धितोपत्र बोर्डसमक्ष माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय