शेयर बजारको ओरालो यात्रा कायमै, २ हजार विन्दुमुनि झर्‍यो नेप्से

२०८० भाद्र ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

आइतवार घटेको नेप्से परिसूचक साताको दोस्रो दिन सोमवार पनि ‌ओरालो गतिमै छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव ६४ प्रतिशत अर्थात् १२ दशमलव ९३ अंक घटेर २ हजार विन्दुमुनि झरेको छ ।

परिसूचक १ हजार ९९८ दशमलव २८ विन्दुमा झरेको हो । यसभन्दा अगाडि नेप्से परिसूचक जेठ २९ गते १ हजार ९८६ दशमलव ४७ विन्दुमा झरेको थियो । यस आधारमा नेप्से परिसूचक सोमवार करीब साढे दुई महीनायताकै न्यून विन्दुमा झरेको हो ।

पछिल्लो समय लगानीकर्ताको मनोबल कमजोर भएको देखिन्छ । सोही कारण नेप्से परिसूचकसँगै कारोबार रकम घटेको छ ।

नेप्सेले २ हजारको मनोवैज्ञानिक विन्दुलाई समेत छाडेर १९ सयको लाइनमा आएको छ । यो समयमा नयाँ लगानीकर्ता बजार प्रवेश गरेका छैनन् भने पुराना लगानीकर्ता पनि ‘पर्ख र हेर’कै अवस्थामा छन् ।

त्यस्तै ट्रेडरहरू बजारमा सक्रिय भएका छैनन् भने केही प्राविधिक रेखाहरूको अध्ययन गर्दै बसिरहेका छन् । यसकारण पनि शेयर बजार नबढेको जानकारहरू बताउँछन् ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशलमव ६४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५२ प्रतिशत घटेको छ ।

कारोबारमा आएका २७२ धितोपत्रको ४१ लाख ६३ हजार ८७२ कित्ता शेयर ३९ हजार ४२५ पटकमा रू. १ अर्ब ४० करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । लक्ष्मी लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । लक्ष्मी लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ७२८ दशमलव २० र कुथेली बुखरी स्मल हाइड्रोपावरको रू. ५२६ दशमलव ९० पुगेको हो ।

सोमवार सबैभन्दा बढी मेन्छियाम हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ७ दशमलव ९९ प्रतिशत घटेसँगै धेरै गुमाएका छन् । कम्पनीको शेयर मूल्य रू. १७४ मा झरेको छ ।

यस कम्पनीले आज गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानीमा छ । यस कारण पनि कम्पनीको शेयरमा विक्रेता हाबी भएका हुन् ।

शेयर मूल्य घट्ने दोस्रोमा हिमालयन पावर पार्टनरको शेयर मूल्य ५ दशमलव ७७ प्रतिशत घटेर रू. २२८ दशमलव ७० कायम भएको हो ।

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू. ८ करोड २ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५०८ दशमलव १० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी छ । कम्पनीको रू. ५ करोड ५ करोड ८३ लाख बराबरको शेयर किनबेच भएको हो ।

यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी हाइड्रोपावर समूहको परिसूचक १ दशमलव ४० प्रतिशत घटेको छ । यो सूचीमा दोस्रोमा रहेको वित्त समूहको परिसूचक १ दशलमव ३३ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय