सिनर्जी पावरले ५० प्रतिशत हकप्रद शेयर आइतवारदेखि निष्कासन गर्ने

२०८० भाद्र १, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आउँदो आइतवारदेखि आफ्ना शेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ । शेयरधनीहरूले यो हकप्रद शेयर खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरूबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै सीडीएससीको मेरो शेयर एपबाट पनि हकप्रद शेयरमा आवेदन दिन सकिनेछ ।कम्पनीको हकप्रद शेयरमा भदौ २४ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।

हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

हकप्रद विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम रू. ४० करोड ३२ लाख ८७ हजार ५ सय एपेक्स मकालु हाइड्रो पावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय