तीव्र उतारचढावबीच शेयर बजार सामान्य वृद्धि

२०८१ बैशाख २५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं– साताको तेस्रो दिन शेयर बजार तीव्र उतारचढावबीच सामान्य अंकले वृद्धि भएको छ । मंगलबार शेयर बजारमा मापन गर्ने नेप्से परिसूचक २ दशमलव शून्य छ अंकले बढेको हो । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा अन्तिम दुई मिनेटमा बढ्दा परिसूचक १९ सय ६० दशमलव आठ एक अंकमा उक्लिएको छ ।

यसदिन विकास बैंक, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचकमा हरियाली छाउदा बाँकी सबै समूहको परिसूचक राताम्य भएका छन् । लघुवित्त समूहको परिसूचक सबै भन्दा धेरै दुई दशमलव चार तीन प्रतिशतले वृद्धि हुँदा व्यापार समूहको परिसूचक सबै भन्दा धेरै एक दशमलव शून्य नौ प्रतिशतले घटेको छ ।

वित्त समूहको परिसूचक पनि एक दशमलव शून्य दुई प्रतिशतले घटेको छ । मंगलबार बढेको बजारमा कारोबार भने अघिल्लो दिनको तुलनामा ७५ करोड रुपैयाँ भन्दा धेरैले घटेको छ । सोमबार ६९ लाख ७८ हजार कित्ता शेयर २ अर्ब ८९ करोड १३ रुपैयाँ बराबरमा किनबेच भएकोमा मंगलबार भने जम्मा ५० लाख ६४ हजार कित्ता शेयर २ अर्ब १४ करोड ५ लाख रुपैयाँमा सिमति भएको हो । यो साता कारोबार रकम निरन्तर घट्दो क्रममा देखिएको छ ।

मंगलबार कारोबार रकमको आधारमा भने पोखरा फाइनान्स अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ३२ लाख रुपैयाँ बराबरमा शेयर खरिदबिक्री भएको छ । बढेको बजारमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९ दशमलव नौ नौ प्रतिशतले बढेर सर्किट लागेको छ भने बोटलर्स नेपाल (तराई) लिमिटेडको शेयर मूल्य सबै भन्दा धेरै ६ दशमलव दुई तीन प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय