काठमाडौं- साताको अन्तिम दिन शेयर बजारमा करिब ३१ अंकको गिरावट आएको छ । बिहीबार शेयर बजार मापन गर्ने नेप्से परिसूचक ३० दशमलव नौ दुई अंकले घटेको हो । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा एक दशमलव चार सात प्रतिशतले घटेर २ जहार ६७ दशमलव शून्य एक अंकमा झरेको छ ।
साताको पहिलो दिनदेखि निरन्तर उकालो लागेको शेयर बजार बुधबारदेखि गिरावट हुन थालेको हो । बुधबार नेप्से परिसूचक २१ दशमलव छ छ सात अंकले घटेर २१ सय अंकबाट तल झरेको हो । आज वित्त बाहेक सबै समूहले समग्र परिसूचक घटेको छ । जलविद्युत समूहको परिसूचक सबै भन्दा धेरै २ दशमलव तीन पाँच प्रतिशतले घट्दा अन्य समूहको परिसूचक दुई प्रतिशतले घटेको छ ।



यस्तै, वाणिज्य बैंक, विकास बैंक, लगानी, जिवन बीमा, उत्पादनमूलक, लघुवित्त, र निर्जिवन बीमा समूहको परिसूचक एक प्रतिशत भन्दा धेरैले घट्दा होटल र पर्यटन, म्युचुअल फण्ड र व्यापार समूहको परिसूचक एक प्रतिशत भन्दा कमले मात्रै घटेको छ । आज घटेको बजारमा कारोबार रकम समेत ४ अर्बमा सिमित भएको छ । दिनभर कुल ३ सय ९ कम्पनीको एक करोड १५ लाख १४ हजार कित्ता शेयर ४ अर्ब १८ करोड ६ लाख रुपैयाँमा सिमति भएको छ ।
अघिल्लो दिन एक करोड ४७ लाख ७७ हजार कित्ता शेयर ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरमा किनबेच भएको थियो । आज पनि हिमालयन पुनर्बीमा लिमिटेडको सर्वाधिक ५४ करोड बराबरको शेयर किनबेच भएको छ । घटेको बजारमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबै भन्दा धेरै ६ दशमलव एक शून्य प्रतिशतले बढेको छ भने सामलिंग पावर कम्पनी लिमिटेडको सर्किट लेबलमा घटेको छ ।








