शिवम सिमेन्ट्स लिमिटेडको करीब ८५ प्रतिशत शेयर लगानी रहेको शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुने एक करोड १६ लाख कित्ता साधारण शेयरहरू सर्वसाधारणका लागि निष्कासन गर्ने भएको हो ।
कम्पनीले आईपीओ निष्कासनको लागि विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । शिवम् होल्डिङग्स लिमिटेडको अधिकृत तथा जारी पूँजी रु. ५ अर्ब ८० करोडमध्ये संस्थापकहरूतर्फ ८० प्रतिशत अर्थात् रु. ४ अर्ब ६४ करोड र सर्वसाधारणतर्फ रु. १ अर्ब १६ करोड शेयर पूँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरिएको कम्पनीले जनाएको छ ।



कम्पनीका संस्थापकहरूमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत शेयर लगानी करीब ८५ प्रतिशत र अन्य १९ जना विभिन्न उद्योग, व्यापार र पेशा व्यवसायमा संलग्न व्यक्तिहरूको व्यक्तिगत करीव १५ प्रतिशत शेयर लगानी छ ।
कम्पनीले आफ्नो शेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफासमेत प्राप्त गरेको जनाएको छ । शेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्य सहितको रकम अन्य उपयुक्त परियोजनाहरू, जस्तै : हाइड्रोपावर, बैंक वित्तीय संस्था, पर्यटन क्षेत्र र पूर्वाधारका परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा समेत शेयर लगानी विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
शिवम् होल्डिङग्स २०७१ सालमा प्रा.लि. कम्पनीअन्तर्गत दर्ता भई २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको हो । कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा किलङ्कर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रिनफिल्ड उद्योगको रूपमा रहेको होङशी शिवम् सिमेन्ट प्रा.लि.मा ३० प्रतिशत शेयर लगानी गरेको छ ।
उक्त उद्योगले वेष्ट हिटको उपयोग गरी करीब १२ मेगावाट विद्युतसमेत उत्पादन गरी आफ्नै उद्योगमा प्रयोग गर्दै आएको छ । सो कम्पनीले कन्भेयरवेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको छ ।








