बढेको बजारमा प्रोफिट बुक भएसँगै सामान्य अंक घट्यो नेप्से

२०८० आश्विन ७, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक १९ दशमलव ४२ अंक अर्थात शून्य दशमलव ९५ प्रतिशत घटेको छ । परिसूचक २ हजार १० दशमलव ३५ विन्दुमा झरेको हो । लगातार तीन दिन बढेपछि बजार समान्य करेक्सनमा गएको हो । बढेको बजारमा कारोबारीहरुले प्रोफिट बुक भएसँगै आइतवार बजार घटेको देखियो । तीन कारोबार दिनमा बजार ६४ दशमलव ८४ अंक बढेको थियो । शेयर धितो कर्जाको सिमा हट्ने खबर सार्वजनिक भएपछि बजार बढेको थियो ।  पछिल्लो समय धेरै जसो लगानीकर्ताहरुले बजार केही बढ्ने वित्तिकै प्रोफिट बुक गरिहाल्छन् । सोही कारण पनि बजार केही दिन बढ्ने वित्तीकै घटिहाल्छ ।

२८५ धितोपत्रको ९० लाख ३ हजार ९४१ कित्ता शेयर ८१ हजार १० पटकमा रू. २ अर्ब ३२ करोड बराबरको शेयर कारोबार भएको छ ।  यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७९ प्रतिशत,फ्लोट इन्डेक्स शून्य दशमलव ८३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ६८ प्रतिशत घटेको हो ।

कारोबारमा आएका धितोपत्रमध्ये तीन धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था,हिमालयन लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि  भएसँगै सकारात्मक सर्किट लागेको हो ।

आइतवार सबैभन्दा बढी शुभम पावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । शेयर मूल्य प्रतिकित्ता रू. ९४५ मा झरेको हो । त्यस्तै दोस्रोमा नबिल ब्यालेन्सड् फण्ड २ को इकाई मूल्य ५ दशमलव ४५ घटेर रू. ८ दशमलव ५० कायम भएको छ ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा माछापुच्छ्रे बैंकले ओगटेको छ । यस कम्पनीको रू. १३ करोड २४ लाख बराबरको भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २६३ दशमलव ६० कायम भएको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि असोज ८ गते बुक क्लोज गरेको छ । यस बुक क्लोजको आधारमा आज सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । सोही कारण सर्वाधिक शेयर कारोबार भएको हो ।

सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्सको रू. ९ करोड ७३ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये लघुवित्त समूहको शून्य दशमलव ९९ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो । सबैभन्दा बढी वित्त समूहको परिसूचक १ दशलमव ९८ प्रतिशत घटेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय