इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले डिजिटल ट्रान्सफर्मेसन अवार्ड पाएको छ । एसियन–ओसियन कम्प्युटिङ इन्डस्ट्री अर्गनाइजेसन (एसोसिओ)ले नोभेम्बर १४ मा दक्षिण कोरियाको सियोलमा आयोजित कार्यक्रममा कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।
एसोसिओका अध्यक्ष ब्रेन सेनले उक्त अवार्ड वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवलाई हस्तान्तरण गरेका थिए । कर्णालीलगायत देशका विभिन्न दुर्गम क्षेत्रमा उच्च गतिको इन्टरनेट पुर्याउन महत्वपूर्ण पूर्वाधार विकास गरी देशको डिजिटल रूपान्तरणमा योगदान पुर्याएको भन्दै कम्पनीलाई यो अवार्डले सम्मानित गरेको हो ।



एशोसिओमा न्युजिल्याण्ड, जापान, अस्ट्रेलिया, भारत, सिंगापुर, चीन नेपाललगायतका विभिन्न २४ देशका सूचना प्रविधि क्षेत्रका संघसंस्था सदस्य रहेका छन् । यो अवार्ड हरेक वर्ष प्रत्येक सदस्य मुलुकको सेवा प्रदायकलाई प्रदान गरिँदै आएको छ । वल्र्डलिंकले यसअघि सन् २०१८ मासमेत एसोसियोको इन्टरनेसनल आउटस्ट्याण्डिङ युजर अर्गनाइजेसन अवार्डबाट सम्मानित भइसकेको छ ।
सन् १९९५ तिर नेपालमा भर्खर भर्खर इन्टरनेट सुरु भएको बेला ‘डिजिटल डिभाइड’ अर्थात् डिजिटल विभेदलाई कम गर्ने स्पष्ट उद्देश्यका साथ वल्र्डलिंक बजारमा आएको थियो । शैक्षिक संस्था, व्यवसाय र आम सर्वसाधारणका लागि कनेक्टिभिटीको टुल उपलब्ध गराउँदै आएको कम्पनीले हाल इन्टरनेटको पहुँचबाट बञ्चित अति विकट तथा दुर्गम क्षेत्रमा समेत आफ्नो सेवा पुर्याएको छ । देशका आठ लखभन्दा बढी घरधुरीलाई इन्टरनेट सेवामा जोड्न सफल वल्र्डलिंकको सेवा देशका हिमाली, पहाडी र तराई क्षेत्रसम्म फैलिएको छ ।








