राजधानीको भृकुटीमण्डपमा बृहत् सांस्कृतिक महोत्सव हुने भएको छ । स्वीकृति इभेण्ट म्यानेजमेन्टले आगामी शनिबार १६ भदौमा भृकुटीमण्डपको खुला चौरमा बृहत् जनचेतनामूलक सांस्कृतिक महोत्सव २०८० आयोजना गर्न लागेको हो ।
महोत्सवको सह आयोजकहरुमा समाज कल्याण परिषदअन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोष, नेपाल होस्टेल एसोसिएसन अफ काठमाडौं, लायन्स क्लब अफ काठमाडौं भिक्ट्री, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठान नेपाल काभ्रेपलान्चोक जिल्ला समिति, सखी प्रतिष्ठान, राष्ट्रिय लोक संस्कृति संरक्षण प्रतिष्ठान नेपाल रहेका छन् ।



कार्यक्रममा करिब चार सय जना चर्चित एवम् लोकप्रिय कलाकारहरु र पाँच हजारभन्दा बढी दर्शकको उपस्थिति रहने आयोजकले दाबी गरेको छ ।
सो अवसरमा तिलगंगा आँखा अस्पत्तालका डाक्टरहरुबाट नि:शुल्क आँखा शिविर, कान्तिपुर डेन्टल कलेज र समाज डेन्टल कलेजबाट नि:शुल्क दन्त शिविर एवम् रक्तदान कार्यक्रम सञ्चालन हुनेछन् ।
विभिन्न झाँकीसहितका प्रस्तुति हुने कार्यक्रममा जनचेतनामूलक सडक नाटक, विषयवस्तुपरक जनचेतनामूलक दोहोरीसमेत रहनेछन् ।
लागुऔषध दुर्व्यशन, सर्ने नसर्ने रोगहरु, सामाजिक सन्जालको दुरुपयोग, सुर्तिजन्य पदार्थको नियन्त्रण, भ्रष्टाचार, सडक सुरक्षा, लैङ्गिक हिंसा एवम् सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जनचेतनामूलक सांस्कृतिक प्रस्तुतिहरु पनि कार्यक्रममा रहनेछन् ।
आयोजक संस्थाका अध्यक्ष एवम् महोत्सवका संयोजक लेकप्रिय गायक नवीन पौडेलका अनुसार गोकर्णेश्वर नगरपालिका, तार्केश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कीर्तिपुर नगरपालिकाले महेत्सवमा सहकार्य गर्ने भएका छन् ।
त्यसैगरी गरिमा विकास बैंक, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक, कामना सेवा विकास बैंक, भूगर्भ सिमेन्ट, ज्योति प्लाइ, लुम्बिनी तन्दुरी ब्यबशायी संघ, सुधार गृहहरुको छाता संगठन एफ डिडि आर, रिकभरी नेपाल, रोयल सुज, ग्रीनसिटी हस्पिटल, कान्तिपुर डेण्टल हस्पिटल, समाज डेण्टल हस्पिटल, भ्वाइस अफ चिल्ड्रेन, नमस्ते दोहोरी सांझ, नगरकोट दोहोरी सांझ, क्विन रोधिघर, दरबार रोधीघर, स्काइ पार्टी प्यालेस, बिनायक हस्पिटल, गोधुली बैंक्वेट्स, स्टार अटो केयर, स्टार पार्टी प्यालेस, एन सि एग्रोटेक प्रा.लि. लगायतका संस्थाहरुको सहयोगमा यो जनचेतनामूलक कार्यक्रम गर्न लागिएको हो। महोत्सवको मिडिया पार्टनरको रुपमा मध्यान्ह राष्ट्रिय दैनिक, अनलाइन पाना डट कमलगायत रहेका छन् ।
कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ ।








