रुपन्देही । ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुलको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच लामो समयदेखि विवाद जारी नै छ । यो विवाद अदालतमा समेत विचाराधीन छ । तर, विद्युत प्राधिकरणले धमाधम लाइन काट्न काम जारी राखेपछि रुपन्देहीका उद्योगीले मजदुरलाई समेत सडकमा लिएर आन्दोलन सुरु गरेका छन् ।
ट्रंकलाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौताको विषयमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीचको विवाद जारी नै छ । प्रधानमन्त्री स्तरबाटै विवाद समाधानकालागि कसरत भइरहेको पनि छ । यता अदालतमा विचाराधिन अवस्थामा पनि छ यो विषयको समाधान । तर, यसक्रममा प्राधिकरणले उद्योगमा विद्युत आपूर्ति बन्द गरिदिएको छ । विद्युत आपूर्ति बन्द गरिदा उद्योगहरु ठप्प छन् । यसैकारण मजदुरहरु कामविहीन बनेका छन् । समस्याले उग्ररुप लिदैगर्दा प्राधिकरणविरुद्ध रुपन्देहीका २१ वटा उद्योग आइतबारदेखि आन्दोलनमा उत्रेका छन् । उद्योगीहरु उद्योग बन्द गरि संयुक्त रुपमा आन्दोलनमा होमिएका हुन् । यस क्षेत्रका कुनै पनि उद्योगले डेडिकेटेड र ट्रंकलाइनको माग नै नगरेको र बिद्युत प्राधिकरणले ट्रंकलाइन बापतको बक्यौता छुट बिल भन्दै जवर्जस्ती असुल्नका लागि उद्योगको लाइन काट्न थालेको उद्योगीको आरोप छ । यदी प्रयोगको स–प्रमाण भए आफुहरु तिर्न तयार रहेको उनीहरुले बताइका छन् ।



२०७२ मा प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनको अवधारणा लिएको थियो । २०७४ देखि २०७६ सम्ममा यस क्षेत्रका उद्योगले ट्रंक लाइन प्रयोग गरेको भन्दै प्राधिकरणले विना बिल पत्र काटेर उद्योगीलाई महसुल तिर्न भनेको थियो । तर, यो बीचमा उद्योगीले नियमित महसुल भने तिरेको देखिन्छ । पछिल्लो ८ वर्ष यता यस विषयमा प्राधिकरण र उद्योगीबीच विवाद चल्दै आएको छ । २०७७ असारबाट भने ट्रंक र डेडिकेटेड लाइन सरकारले नै हटाएको थियो । अहिले यो विवाद अदालतमा विचाराधीन छ । तर, प्राधिकरणले धमाधम उद्योगको लाइन काट्न थाले पछि रुपन्देहीका उद्योगीले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनप्रति प्राधिकरणका वितरण केन्द्रहरुको प्रतिक्रिया यस्तो छ ।
नेपाल बिद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा मात्रै पनि ३८ वटा उद्योगहरुको ७ अर्ब ८ करोड ७४ लाख बढी ट्रंक र डेडिकेटेड लाइन वापतको महशुल बाँकी रहेको छ । तर, उद्योगीहरु यो रकम तिर्न तयार छैनन् । यसरी प्राधिकरण र उद्योगीको जुहारीले समस्यामा मजदूर परेका छन् ।








