अमेरिकी लगानीकर्तालाई नेपालमा लगानी गर्न मन्त्री साउदको अनुरोध

२०८० कार्तिक १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

परराष्ट्रमन्त्री एनपी साउदले नेपाल लगानीका लागि उत्कृष्ट स्थान भएकाले अमेरिकी लगानीकर्तालाई लगानीको अवसरमार्फत लाभ लिन आग्रह गरेका छन् ।

मन्त्री साउदले नेपालमा गरिएको लगानीको मुनाफा र पुँजी फिर्ता लैजाने संवैधानिक व्यवस्था गरिएकाले लगानीमैत्री वातावरण निर्माण भएको बताए । नेपाल सरकारले लगानीमैत्री वातावरण बनाउन र लगानी आकर्षित गन्तव्यको रुपमा विकास गर्न कुनै कसर नराख्ने उनको भनाइ थियो ।

अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका मन्त्री साउदले अमेरिका चेम्बर अफ कमर्सका सदस्यसँग बुधबार वासिङ्टन डिसीमा अन्तरक्रिया गर्दै उक्त आग्रह गरेका हुन् । उनले भने, “विश्वमा कार्बन उत्सर्जनलाई कम गर्न स्वच्छ ऊर्जाको उपयोग बढाउँदै लैजानुपर्ने अवस्थामा नेपालमा भएको बिजुली ठूलो मात्रामा छिमेकी देशमा उपलब्ध गराउन सकिन्छ, यसका लागि अमेरिकी निजी क्षेत्रले आर्थिक तथा प्राविधिक स्रोत परिचालन गरेर लाभ हासिल गर्न सक्छन् ।”

मन्त्री साउदले नेपालको सूचना प्रविधि क्षेत्र अर्को संभावना भएको उल्लेख गर्दै सक्षम जनशक्ति, भाषागत दक्षता, मानव संशाधनको सहज उपलब्धता आदि कारणले यसमा लगानी गर्न पनि अनुरोध गरे । उनले भने– “नेपालको आर्थिक रुपान्तरणमा सूचना प्रविधि गेम चेञ्जर हुनेमा म विश्वस्त छु ।” सूचना प्रविधीको कम्पनी स्थापनाका लागि सय रुपैयाँमा नै कम्पनी खोलेर वैदेशिक प्रत्यक्ष लगानी गर्नसक्ने गरी सरकारले नयाँ नीति लागू गरेको उनले बताए । अरु क्षेत्रका लागि न्यूनतम रु दुई करोड लाग्ने मन्त्री साउदको भनाइ थियो ।

मन्त्री साउदले वैदशिक लगानीका लागि वाणिज्य विभागमा एकद्वार प्रणालीमार्फत सहजीकरण गर्दै आएको उल्लेख गर्दै भने, “नेपालले वैदेशिक लगानीको स्वचालित प्रणालीअनुरुप रु १० करोडसम्मको लगानीका लागि पूर्वस्वीकृत लिन नपर्ने व्यवस्था गरेको छ ।”

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय