काठमाडौं- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो संख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताएका छन् ।
नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा आज (मंगलबार) आयोजित समारोहमा उनले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताए । मन्त्री साउदले सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गरे ।



नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । मन्त्री साउदले दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो सम्बन्ध मित्रता, सौहार्द्धता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताए । गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति, र समृद्धिका सफलताका कथाहरूबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै उनले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा हाम्रो साझेदारी बढाउन चाहेकाे बताए ।
यस्तै, कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै नेपालीले कोरियामा सिकेको सीप, अनुभव र ज्ञान स्वदेशमा उपयोगी हुने विश्वास व्यक्त गरे । साथै उनले कोरिया सरकारले नेपालको विकास निर्माणका क्षेत्रमा गरेको योगदानले दुई देशबीच आत्मीय र भाइचाराको सम्बन्ध विस्तार भएको बताए ।
कार्यक्रममा कोरियाका राजदूत पार्क तियोङले विगत ५० वर्षको यात्रा साझा मूल्यमान्यता, आपसी सम्मान र हाम्रा जनताको राम्रो भविष्य निर्माण गर्ने प्रतिबद्धताको कथा भएको बताए । यस अवधिमा द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएको र बलियो बन्धनका रुपमा रहेको उल्लेख गर्दै उनले कोरिया र नेपालबीचको सहकार्य व्यक्तिगत र आर्थिक विकासका लागि शक्तिशाली उत्प्रेरक भएको बताए ।
सो अवसरमा मन्त्री र राजदूतले संयुक्तरुपमा ५०औँ वार्षिकोत्सवको स्मरणार्थ लोगो अनावरण तथा कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रमबाट फर्किएका नेपालीको सफलताको कथामा आधारित पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’को विमोचन गरेका थिए ।








