नाफा बुक गर्नेतर्फ लगानीकर्ताको ध्यान

२०८० मंसिर २६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

राष्ट्र बैंकले गरेको चालु आवको मौद्रिक नीतिको पहिलो समीक्षापछि आइतबार आक्रामक बनेको सेयर बजार सोमबार भने दोहोरो अंकले घट्न पुगेको छ । लगानीकर्ताहरूले बजार बढेको मौका छोपी नाफा बुक गर्न थालेपछि नेप्से परिसूचक दोहोरो अंकले घट्न पुगेको जानकारहरू बताउँछन् ।

आइतबार १११ अंकले बढेको नेप्से परिसूचक सोमबार १५.४० अंकले घटेको छ । सेयर बिक्री गर्ने होडबाजीकै कारण कारोबार रकम पाँच महिनायताकै उच्च भएको छ । नेप्सेका अनुसार सोमबार कुल ४ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब पुग्न सकेको छैन । आइतबार सेयर बजारमा तीन पटक सकारात्मक सर्किट ब्रेक लागी परिसूचक १११ अंकले बढेको थियो ।
सोमबार नेप्से परिसूचकमा एकदमै ठूलो उतारचढाव देखियो । अधिकतम १९८९.७२ अंकसम्म नेप्से उक्लियो भने न्यूनतम १९२८.७६ विन्दुसम्म झरेर दिनभरिमा ६१ अंकको उतारचढावपछि अन्तिममा १९४८.५७ विन्दुमा बन्द भयो ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सोमबार बजार बढेको मौका छोपी ठूला लगानीकर्ताहरूले नै नाफा बुक गर्ने होडबाजी गरेको बताइन् । जसले गर्दा नेप्से परिसूचक घटे पनि कारोबार रकम उच्च भएको उनको भनाइ छ ।
उनले भनिन्, ‘पुसमा लगानीकर्तालाई केही चाप पर्छ । सेटलमेन्टको काम गर्नुपर्ने हुँदा बजार केही घट्न सक्छ, जसकारण नाफा पनि घट्न पुग्छ । यही कारण ठूला लगानीकर्ताहरूले नै हतारमा सेयर बिक्री गरेका हुन्, जसले सोमबार बजार घटाउन भूमिका खेल्यो ।’

सोमबार कुल ८१ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने तीन कम्पनीको स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा समूह भने १.३ प्रतिशत बढ्यो । बैंकिङ १५, विकास बैंक ८०, फाइनान्स २२, होटल तथा पर्यटन ७६, जलविद्युत १४, जीवन बीमा ७९, अन्य १७ र व्यापार उपसमूह ३१ अंक घटे । निर्जीवन बीमा १४६, माइक्रोफाइनान्स १५ र उत्पादन समूह १३ अंक बढे ।

सोमबारको सेयर बजारमा बोटलर्स नेपाल (बालाजु), सामुदायिक लघुवित्त र दोल्ती पावरको मूल्य १० प्रतिशत बढ्न पुग्यो । यसबाहेक हाथवे इन्भेस्टमेन्टको ९.९, इनिफिनिटी लघुवित्तको ९.६ तथा मानुसी लघुवित्तको ९.३ प्रतिशतले मूल्य बढ्यो । समता लघुवित्तको मूल्य सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । मन्दाकिनी हाइड्रोको ५.८, स्वाभिमान लघुवित्तको ५.४, एसियन हाइड्रोपावरको ५.३ र अपार स्याङ्गे हाइड्रोपावरको ५.२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, रिलाबयल नेपाल लाइफ इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, माउन्टेन इनर्जी र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे । शुक्रबार मात्रै राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासिक मौद्रिक नीति समीक्षामा सेयर धितोमा जाने कर्जाको जोखिमभार १५० प्रतिशतबाट झारेर १२५ प्रतिशत कायम गरिएको थियो । लामो समयसम्म बजार घटिरहँदा राष्ट्र बैंकले लिएको यो कदमपछि लगानीकर्तामा मनोबल बढेको छ । जसकारण सेयर बजार अब क्रमशः बढ्दै जाने अध्यक्ष पोखरेल बताउँछिन् । उनले राष्ट्र बैंकले सेयर बजार सम्बन्धी अन्य नीतिमा पनि लचकता अपनाउँदै गएमा बजार थप अगाडि बढ्न सहज हुने बताइन् ।

लगानीकर्ताहरूको माग पूरा हुने दिशामा गएकाले अहिले बजारमा ‘कन्फिडेन्स’ बढ्न थालेको उनको भनाइ छ । उनले भनिन्, ‘राष्ट्र बैंककै नीतिका कारण बजारलाई असहज भएको थियो । अब नीति सच्चिएको छ, लगानीकर्ताको मनोबल यसले केही हदसम्म बढ्ने अपेक्षा गर्न सकिन्छ ।’ नीति सहज भएको अवस्थामा बजारले छिट्टै गति लिने उनी बताउँछिन् ।

लकिङ पिरियड सकिनु ३० दिनअघि नै लगानीकर्तालाई जानकारी दिनुपर्ने
नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीलाई संस्थापक सेयरको लकइन पिरियड खुलेको जानकारी सार्वजनिक गर्न निर्देशन दिएको छ । बैंक र बीमाबाहेक नेप्सेमा सूचीकृत कम्पनीको संस्थापक सेयर बाँडफाँड भएको मितिले तीन वर्षसम्म बिक्री गर्न नपाइने प्रावधान छ ।

धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज, सिडीएस एन्ड क्लियरिङ र सम्पूर्ण सूचीकृत संस्थाहरुलाई निर्देशन दिँदै लकइन पिरियड सकिनु ३० दिन अगाडि नै लगानीकर्तालाई सोको जानकारी दिन भनिएको हो ।

बोर्डले सार्वजनिक रुपमा जानकारी गराउँदा लकइनमा रहेको सेयर संस्थापक हो कि स्थानीय प्रभावित हो, लकइनमा रहेको सेयर संख्या र लकइन अवधि समाप्त हुने मिति समेत स्पष्ट रुपमा खुलाई सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने जनाएको छ ।
सो सूचना एक हप्तासम्म सबैले सहजै देख्न सक्ने गरी सम्बन्धित संस्थाले आफ्नो वेबसाइटमा समेत राख्नुपर्ने बोर्डको निर्देशनमा उल्लेख छ । सूचीकृत कम्पनीले पठाएको लकिङ अवधिसम्बन्धी सूचना नेपाल स्टक एक्सचेन्ज र सिडीएसले पनि आफ्नो वेबसाइटमा कम्तिमा १ हप्ता राख्नुपर्ने बोर्डको निर्देशनमा उल्लेख छ ।

यस्तै, धितोपत्र बोर्डले साधारण सेयर बाँडफाँड गर्दा न्यूनतम १० कित्ता सेयर पार्नुपर्ने नीति पुनरावलोकन गर्ने भएको छ । यसका लागि बोर्डले प्रवीणकुमार झाको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा भोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिकाप्रसाद गिरी रहेका छन् । झा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट (आईक्यान)बाट धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधि रहेका छन् भने अर्का सदस्य ढुंगाना स्वतन्त्र सञ्चालक छन् ।

श्रेष्ठ र गिरी भने बोर्ड व्यवस्थापन समूहका सदस्यहरु हुन् । अहिले श्रेष्ठ बोर्डको कार्यकारी निर्देशक र प्रवक्ता छन् भने गिरी सहायक कार्यकारी निर्देशक छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय