काठमाडौं– प्रथम सहकारी रोजगार मेला–२०८१ को तीन हजार बढीले अवलोकन गरेका छन् । राष्ट्रिय सहकारी महासंघको आयोजनामा असार ७ देखि ९ सम्म सञ्चालित मेलामा करिब ३ हजारदेखि ४ हजार जनाले अवलोकन गरेका आकलन गरिएको छ । मेलामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का विज्ञद्वारा करिब २ सय विद्यार्थीलाई करियर काउन्सिलिङ गरिएको थियो ।
समयमा नै जागिर सुरक्षित गर्न अनलाइनमार्फत व्यक्तिगत विवरण भरी रोजगारीको लाभ लिएको महासंघले बताएको छ । मेला अवधि भर सहकारीका ठूलो रोजगारदाताहरूबाट कार्यपत्र प्रस्तुत गरिएको थियो । विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थी, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी करिब ५ हजारभन्दा बढीले मेलाको अवलोकन गर्ने अनुमान गरिए पनि अपेक्षाभन्दा कम नै अवलोकन भएको थियो ।



महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारीबारे सकारात्मक सन्देश दिन मेला सफल भएको दाबी गरिन् । आगामी वर्षमा यस्ता मेलालाई अझ व्यवस्थित गर्दे जाने उनले बताइन् । मेलामा करिब २९ ओटा स्टलमार्फत विभिन्न उत्पादित सामग्री प्रदर्शन समेत गरिएको थियो । मेलामार्फत महासंघले विभिन्न सहकारीमा आवश्यक पर्ने रोजगारीका लागि अनलाइनबाट व्यक्तिगत विवरण संकलन गरेको महासंघका महाप्रबन्धक चित्रा कुमारी थमसुहाङ सुब्बाले जानकारी दिइन् ।
मेलाको समापन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नेपालमा सहकारीमार्फत भएको विकासलाई हेर्नु पर्ने भन्दै केही व्यक्तिहरूले सहकारीलाई बदनाम गराउँदैमा समग्र सहकारी नराम्रो भन्न नमिल्ने बताए । सहकारीले किसानको उत्पादन बिक्री गर्ने वातावरण तय गरेको समेत उनले बताए । मन्त्री अर्यालले भने, ‘चार खर्बभन्दा बढी बचत सहकारीमा छ । नेपालमा सहकारीको माध्यमबाट भएको विकास, रोजगारी र यस क्षेत्रले दिएको योगदान धेरै छ । पैसालाई कसरी परिचालन गर्न सकिन्छ भनेर सहकारीले सिकाएको छ ।’
कार्यक्रममा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार खगराज अधिकारीले सहकारी संस्थाहरूमा नराम्रो गर्न खोज्नेहरू टिक्न नसक्ने बताए । सहकारी बढिरहने भएकाले यो ढुक्कले अगाडी बढ्छ । सहकारीमा नराम्रो काम जसले गर्छ उ सहकारीमा टिक्न नसक्ने अधिकारकिो भनाइ थियो ।








