सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले शुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् ।
दुई वर्षको अवधिमा तीन सय ३५ विद्यार्थीले यो कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ । जसमध्येबाट ५२ जना उद्यम जन्मदा ८६९ जनाले रोजगारी पाएका छन् । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमको कारण सामाजिक वित्त प्रवर्द्धनमा बैंकको भूमिका थप बढेको बताए । ‘बैंकले शुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवर्द्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौँ’, अध्यक्ष पौड्यालले भने ।



उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीहरूलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम शुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए ।
नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यमहरू शुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रम अन्तर्गत फेलोशिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् ।








