काठमाडौं। एनआईसी एशिया बैंकले आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरणमा सघाउन २०८० चैत मसान्तसम्ममा भाखा नाघेका कर्जाको हकमा छूट सुविधा ल्याएको छ । बैंकले सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार मसान्त भित्रमा चुक्ता गरेमा जरीवाना तथा हर्जाना रकममा शत प्रतिशत छूट र साधारण बक्यौता ब्याज रकममा समेत छूट दिने भएको हो ।
योजना अनुसार ९१ देखि १८० दिन भाखा नाघेका ऋणीले साधारण ब्याजमा १५ प्रतिशत, १८१ देखि ३६५ दिनको हकमा २५ र सो भन्दा माथिको हकमा ३५ प्रतिशत छूट दिने बताइएको छ । यो सुविधा सबै खालमा ऋणीले प्राप्त गर्ने बताइएको छ । बैंकले ल्याएको यस छूट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकको वित्तीय भार कम गर्न केही हदसम्म मद्दत पुग्ने र समग्र अर्थतन्त्रको पुनर्उत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकको अपेक्षा छ ।











