कोशी प्रदेशमा १४ हजार मेट्रिक टन सुपारी उत्पादन, झापामै फल्यो १० हजार मेट्रिक टन

२०८० श्रावण २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशमा १४ हजार पाँच सय ६१ मेट्रिक टन सुपारी उत्पादन भएको छ ।

झापामा २ हजार ७७० हेक्टरमा सुपारीखेती हुँदै आएको छ । झापामा आव २०७९/८० मा १० हजार ३७० मेट्रिक टन सुपारी उत्पादन भएको छ । झापामा सुपारी खेतीको विस्तार पनि तीव्र रुपमा भइरहेको छ ।

झापापछि मोरङमा सबैभन्दा बढी सुपारी खेती र उत्पादन हुँदै आएको छ । मोरङको ९०५ हेक्टरमा सुपारीको खेती हुँदै आएको छ । गत आवमा मोरङमा २ हजार ९४६ मेट्रिक टन सुपारी उत्पादन भएको थियो ।

यसैगरी इलाममा गत आवमा दुई सय नौ हेक्टरमा सुपारी खेती भएकामा ६१० मेट्रिक टन उत्पादन भएको थियो भने सुनसरीको १३५ हेक्टरमा खेती हुँदा ५२५ मेट्रिक टन सुपारी उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

उदयपुरको ३५ हेक्टरमा सुपारी खेती भएको र गत आवमा १०९ मेट्रिक टन सुपारी उत्पादन भएको पाइएको छ । झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको कुल चार हजार ५४ हेक्टरमा सुपारीको व्यावसायिक खेती हुँदै आएको छ ।

मन्त्रालयका कृषि विज्ञ अभिमन्यू अधिकारीका अनुसार कोशी प्रदेशको कूल सुपारी उत्पादनमध्ये दुई तिहाइभन्दा बढी सुपारी झापामै उत्पादन हुने गरेको छ । त्यही कारण झापालाई सुपारीको राजधानी तथा उर्वरभूमि पनि भन्ने गरिन्छ ।

धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभइ नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ ।  सुपारीको व्यावसायिक खेती झापासहित कोशीका चार जिल्लामा हुने गरेको छ । सुनसरी, मोरङ र उदयपुरमा पनि यस खेती हुँदै आएको छ ।

सुपारीको पातदेखि खोस्टासमेत बिक्री हुन थालेपछि यसप्रति किसानको आकर्षण बढेको छ ।  झापामा सुपारीको खोस्टाबाट प्लेट, बटुका, चम्चालगायतका सामान बनाउने ठूला साना गरी आधादर्जन उद्योग सञ्चालनमा रहेका छन् । सुपारीका पातबाट निर्मित सामान यूरोपसम्म निर्यात हुने गरेको छ ।

जिल्लाका १५ वटै पालिकामा किसानले सुपारीको व्यावसायिक खेती गर्दै आएको सुपारी खेतीका अभियन्ता एवम् सुपारी जोनका पूर्व अध्यक्ष नीलकण्ठ तिवारीले बताए ।

यसको पातबाट वातावरणमैत्री थाल तथा बटुकासमेत उत्पादन हुने गरेको छ । वर्षौदेखि जिल्लामा सुपारीको खेती हुँदै आए पनि यसको खेतीले व्यावसायिकस्वरुप धारण गरेको भने धेरै भएको छैन । अरु बालीभन्दा कम लागतमा बढी आम्दानी पाइने भएकाले किसान धान र अन्य बालीको साटो सुपारी खेतीमा आकर्षित हुन थालेका छन् ।

झापाको पूर्व–पश्चिम राजमार्गको उत्तरी क्षेत्रमा सुपारी खेतीका लागि अनुकूल माटो रहेको छ । बाहुनडाँगी, बुधबारे, शनिश्चरेमा जताततै सुपारीका मनमोहन बगान देख्न सकिन्छ । पछिल्लो समय सुपारी खेती विस्तार गर्ने लहर नै चलेको छ । “कम लगानीमा बढी आम्दानी हुने भएकाले सुपारी खेतीतर्फ किसानको आकर्षण बढेको हो”, सुपारी जोनका पूर्व अध्यक्ष तिवारी भन्छन्, “जङ्गली हात्तीले अरु बाली खाएर नष्ट गरेपछि सुरक्षित बालीका रुपमा हात्तीपीडित क्षेत्रका बासिन्दाले सुपारी खेती विस्तार गर्न बाध्य भएका पनि छन् ।”

एकपटक लगाएपछि पुस्तौँसम्म दीर्घकालीन आम्दानीको स्रोत बन्ने र पातदेखि फलसमेत बोटबाटै बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँले जङ्गली हात्तीले सुपारी बालीलाई कम क्षति गरेको पाइएको तिवारीले बताए । स्वदेशमा सुपारी खेती विस्तारसँगै यसबाट लाभान्वित किसानको सङ्ख्या बढ्दै गएको छ । सुपारीबाट प्रति बिघा वार्षिक  ३  लाख रुपैयाँ सम्म आम्दानी हुने गरेको छ ।

सुपारी बारीभित्रै तोरी, फिलुङ्गे, आलस, कागती, बेसार र अदुवाको खेती पनि गर्न सकिन्छ  । बहुवर्षे बाली भएकाले एकै वर्षमा एउटा बोटबाट ५० किलोसम्म सुपारी फलाउन सकिन्छ । स्वदेशमा खेती र उत्पादनको प्रचुर सम्भावना भए पनि तेस्रो मुलुकबाट आयातित सुपारीको तस्करी धन्धाका कारण स्थानीय किसान मारमा परेका छन् । सरकारले तोकेको भारत निकासी कोटामा विदेशी सुपारी मिसाउने धन्धाका कारण स्वदेशी सुपारीको बजार अन्योल र विवादमा पर्ने गरेको किसानको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय