सरकारले चाहे अर्थतन्त्र सुधार हुन्छ

२०८० पुष २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नेपालगन्ज– कोहलपुर उधोग वाणिज्य संघको १०औं साधारणसभा तथा २५औं रजत जयन्ती मनाएको छ । ‘सम्मानित निजी क्षेत्र, सुमन्नत नेपाल’ भन्ने नाराका साथ संघले शुक्रबार आफ्नै नवनिर्मित भवनको सभाहलमा साधारणसभा तथा स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकालले प्रमुख अथितिको रूपमा भर्चुअल माध्यमबाट नवनिर्मित भवनको उद्दघाटन गरे । भौतिकरूपमा उपस्थित हुन नसकेको भन्दै ढकालले भर्चुअल उपस्थितिमा नवनिर्मित भवनको उद्दघाटन गरेका हुन । भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ढकालले सरकारले चाहने हो भने अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताएका छन् । ‘सरकारले नीतिगत र व्यावहारिक सहजता बनाउनुपर्छ,’ उनले भने, ‘अर्थतन्त्र सुधार हुन समय लाग्दैन ।’

आफू व्यवसायीको हक अधिकारका लागि निरन्तर लागिरहेको बताउँदै उनले आफ्नो सकृयताका कारण धेरै बैंकले एक डिजिटमा ब्याजदर कायम गरेको बताए । ‘सबै बैंकलाई एक डिजिटमा कर्जा लगानीको वातावरण बनाउनका लागि महासंघ लागिपरेको छ,’ उनले भने । पछिल्लो समय सबै खालका उद्योग व्यवसायका लागि विविध खालका चुनौती रहेको भन्दै सरकारले उद्योग व्यवसाय गर्ने वातावरण बनाउनुपर्ने बताए । ‘त्यसका लागि हामीले सरकारलाई बारम्बार आग्रह गर्दै आएका छौं,’ उनले भने, ‘विज्ञ लगाएर सुझावसहित बुझाएका पनि छौं । ती कुराहरू कार्यान्वयन हुनुपर्छ ।’

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले व्यवसायीका हकहितका लागि संघ लागिपरेको बताउँदै कोहलपुर बसपार्कमा भाडामा व्यवसाय गर्दै आएका व्यापारी पलायन हुँदै गएको विषय थाहा पाउँदा दुःख लागेको बताए । ‘३–४ वर्षदेखि व्यवसायीहरू धरासायी अवस्था छन् । धेरै उद्योग र सटर बन्द भएका छन्,’ उनले भने, ‘अरू कति बन्द हुने तरखरमा छन्, यो चिन्ताको विषय हो ।’ आर्थिकमन्दीले प्रत्येक वर्ष तिर्नुपर्ने व्याज व्यवसायीले एकैपटक तिर्दा व्यवसायी मारमा परेको उनको भनाइ थियो ।

उद्योग वाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेलले कोरोना भाइरस, आर्थिक मन्दी र बैंकको चर्काे ब्याजदरका कारण व्यवसायी पलायन हुनुका साथै तनावमा रहेको बताए । कोहलपुर उद्योग वाणिज्य संघले व्यवसायीका हकहितका लागि सधैं आवाज उठाउँदै आएको स्मरण गराउँदै उनले व्यवसायीलाई हतोत्साही नभई आत्मबल बढाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरे ।

संघले व्यापार मेलाको टिकट बिक्रीबाट उठेको रकम प्रतिटिकट एक रुपैयाँ छुट्याकोमा सोवापतको ५० हजारको चेक नेपाल रेडक्रस सोसाइटी कोहलपुरका निवर्तमान अध्यक्ष नारायण गौडेललाई हस्तान्तरण गरेको छ । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले अझै पनि धेरै व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाइएको बताउँदै नगरपालिका र उद्योग वाणिज्य संघमा दर्ता गरी व्यवसाय सञ्चालन गर्न सुझाइन् ।

उनले व्यवसाय दर्ता नगरी सञ्चालन गर्दा व्यवसायी स्वयम्लाई अप्ठेरो पर्दा आपतविपद्मा राहत तथा सहयोग पाउन कठिन हुने उल्लेख गरिन् । कार्यक्रममा संघका महासचिव मातृकाप्रसाद सापकोटाले वार्षिक कार्यको प्रतिवेदन र कोषाध्यक्ष भूपेन्द्रप्रसाद काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय