चालु आर्थिक वर्षको सुरुदेखि बढ्दै आएको रेमिटेन्स (विप्रेषण) आप्रवाह चार महिनामा चार खर्ब ७७ अर्ब करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार कात्तिकसम्ममा रेमिटेन्स आप्रवाह ४ खर्ब ७७ अर्ब भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा २०.४ प्रतिशतले बढेको रेमिटेन्स चालु आवमा २६.४ प्रतिशतले बढेको छ ।
अघिल्लो आवको पहिलो चार महिनामा ३ खर्ब ७८ अर्ब रेमिटेन्स भित्रिएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । चालु आवको पहिलो महिना साउनमा रेमिटेन्स २५.८ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब पुगेको थियो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो । चालु आवको भदौमा २२.१ प्रतिशतले वृद्धि भई २ खर्ब २८ अर्ब रेमिटेन्स भित्रियो । अघिल्लो वर्षको सोही अवधिमा १९.८ प्रतिशतले बढेको थियो । यसैगरी असोजमा ३० प्रतिशतले बढेर ३ खर्ब ६५ अर्ब रुपैयाँ भित्रिएको थियो ।



अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो । चालु आवको सुरूवातदेखि नै बढ्दो ट्रेन्डमा रहेको रेमिटेन्स चौथो महिनासम्म बढ्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो समय रोजगारीका लागि बाहिरिने बढेसँगै रेमिटेन्स पनि बढेको हो । सामान्यतयाः रोजगारीमा गएको करिब ४ महिनापछि नेपालमा उनीहरूले रेमिटेन्स पठाउने गर्छन् । अहिलेको तथ्यांक पनि करिब ३÷४ महिनाअघि विदेशिनेहरूले पठाएको रेमिटेन्स भएको जानकारहरूको भनाइ छ । नेपाली मुद्रा विप्रेषक संघका उपाध्यक्ष रितेश मित्तलले पछिल्लो समय रोजगारीमा जानेहरू बढेकाले पनि रेमिटेन्स भित्रिने क्रम बढेको बताए । नेपालको अर्थतन्त्रको रक्तसञ्चार मानिने रेमिटेन्स वृद्धि उल्लेख्य भएको उनको भनाइ छ ।
पछिल्लो समय रेमिटेन्स कम्पनीहरूमार्फत भने कम रेमिटेन्स आइरहेको भन्दै अहिले २६ प्रतिशतले बढ्ने अपेक्षा नै नभएको उनले बताए । उनले भने, ‘यसरी ठूलो प्रतिशतमा बढेको छ भन्ने सोचेका थिएनौं । हाम्रा कम्पनीहरूबाट यसरी आइरहेको छैन । विदेशिने क्रम बढ्दो छ । रोजगारीमा गएकाहरूले रेमिटेन्स पठाइरहेका छन् । नेपालमा सुस्त अर्थतन्त्र हुँदा उताबाट बढी मात्रामा रेमिटेन्स भित्रिएको हो ।’ खासगरी अहिले नेपालमा अर्थतन्त्र सुस्त हुँदा उपभोक्ताको क्रयशक्ति ह्रास हुँदै गएको छ । यो अवस्थामा विदेशमा रहेका नेपाली श्रमिकहरूले सामान्य घर खर्चका लागि पनि रेमिटेन्स पठाइरहेको पाइन्छ । साथै चाडपर्वको समय भएकाले पनि रेमिटेन्स बढी भित्रिएको जानकारहरू बताउँछन् ।
चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या भने घटेको छ । केन्द्रीय बैंकका अनुसार चालु आवको कात्तिकसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रमस्वीकृति लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रमस्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख ९६ हजार ७३५ र ८७ हजार ४२८ थियो ।
यस्तो छ अन्य आर्थिक सूचकको अवस्था
२०८० कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ८.०८ प्रतिशत थियो ।
कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलपूmलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । कात्तिकमा घ्यू–तेल र तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।
काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत थियो । आर्थिक वर्ष २०८०–८१ को चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई ५० अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । यस अवधिमा कुल वस्तु आयात ३.८ प्रतिशतले घटी ५१२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात १८.१ प्रतिशत घटेको थियो । चालु आवको चार महिनामा चालु खाता ९६ अर्ब ३८ करोड रुपैयाँले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोड रुपैयाँले घाटामा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ । समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोड रुपैयाँ बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाख बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब रहेको कुल विदेशी विनिमय सञ्चिति १०.२ प्रतिशतले बढेर २०८० कात्तिक मसान्तमा १६ खर्ब ९६ अर्ब पुगेको छ ।
चालु आवको पहिलो चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रक्षेपण राष्ट्र बैंकले गरेको छ । चालु आवको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ५४ अर्ब पुगेको छ । यस्तै, कर्जा प्रवाह ९९ अर्ब ४० करोड रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ । निक्षेप २.७ प्रतिशतले बढ्दा कर्जा प्रवाह २.१ प्रतिशतले बढेको हो ।








