नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् । लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभइ ट्रान्पोटेसनको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए ।
उनले नेपालमा सडक बनाएर डाँडाँमा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्द्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । उनले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्द्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए । उनले नेपालको भौगोलिक अवस्थालाई बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताए ।



त्यस्तै लुम्बिनी केबलकारका अप्रेशन म्यानेजर डिएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । उनले आफूहरुले अपेक्षा गरेअनुसारकै पर्यटकहरु आएकोमा खुशी व्यक्त गरे । उनले लुम्बिनी केबुलकारको टिकट महंगो नभएको बताए ।








