गत आर्थिको वर्षको भन्दा चालु आर्थिक वर्षको पहिलो चौमासिक ( साउन–कात्तिक) मा राजस्व असुली आठ अर्बले बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार कात्तिकसम्ममा २ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको १९.६ प्रतिशत र गत वर्षभन्दा ८ अर्ब बढी हो ।
चालु वर्षमा सरकारले १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ । यसमा राजस्व संकलनको लक्ष्य १४ खर्ब २२ अर्ब रुपैयाँ छ । गत वर्ष राजस्व लक्ष्य १४ खर्ब ३ अर्ब रुपैयाँ थियो भने पहिलो चौमासिकमा २ खर्ब ७० अर्ब रुपैयाँ उठाएको थियो । चालु आवको वार्षिक लक्ष्यको आधारमा भन्दा राजस्व संकलन गत वर्ष र यस वर्षको उस्तै देखिन्छ ।



यद्यपि, राजस्व अंक भने आठ अर्ब बढी छ । चालु आवको पहिलो चौमासिकमा कर राजस्व २ खर्ब ५६ अर्ब रुपैयाँ संकलन भएको छ । गत वर्ष यही अवधिमा कर राजस्व २ खर्ब ४८ अर्ब संकलन भएको थियो । चालु आवमा सरकारले कर राजस्व संकलन लक्ष्य १३ खर्ब लिएको छ । गत वर्षको लक्ष्य १२ खर्ब थियो ।
गत वर्ष सरकारले गैरकर राजस्व संकलन लक्ष्य १ खर्ब राखेको थियो भने पहिलो चौमासिकमा २२ अर्ब ४१ करोड उठाएको थियो । चालु आवमा गैरकर राजस्व संकलन लक्ष्य १ खर्ब १७ अर्ब रहेकोमा पहिलो चौमासिकमा २२ अर्ब ३९ करोड रुपैयाँ उठेको छ । यो वार्षिक लक्ष्यको १९.१३ प्रतिशत हो ।
यसैगरी वैदेशिक अनुदान २ अर्ब ७५ करोड रुपैयाँ आएको छ । सरकारले अनुदानको लक्ष्य ४९ अर्ब ९४ करोड राखेको छ । चालु आवको पहिलो चौमासिकमा लक्ष्यको ५.५२ प्रतिशत अनुदान आएको छ । गत वर्ष सरकारले ५५ अर्बको अनुदान लक्ष्य राखेकोमा पहिलो चौमासिकमा ३ अर्ब ४१ करोड रुपैयाँ उठाएको थियो ।
महालेखाका अनुसार चालु आवको पहिलो चौमासिकमा अन्य राजस्व संकलन १६ अर्ब २५ करोड रुपैयाँ भएको छ । गत वर्षको यही अवधिमा यस्तो कर २३ अर्ब उठेको थियो । पहिलो चौमासिकमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च ३ खर्ब ५५ अर्ब पुगेको छ । चालुतर्फ २३.७५ प्रतिशत, पुँजीगततर्फ प्रतिशत ९.९३ र वित्तीय व्यवस्थातर्फ १७.७२ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले चालुतर्फ ११ खर्ब ४१ अर्ब विनियोजन गरेको छ, जसमध्ये हालसम्म २ खर्ब ७१ अर्ब खर्च भएको छ । यसैगरी पुँजीगतमा ३ खर्ब २ अर्ब विनियोजन गरेकोमा २९ अर्ब ९८ करोड खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब विनियोजन भएकोमा ५४ अर्ब ४६ करोड खर्च भएको छ ।
कर दिवस मनाइँदै
सरकारले विभिन्न नाराका साथ रहेक वर्ष मंसिर १ बाट साताव्यापी कर दिवस मनाउने गरेको छ । यो वर्ष ‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ नारा तोकिएको छ । आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गर्ने कार्यक्रम छ ।
गत आर्थिक वर्ष २०७९–८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको संख्या ५५ लाख २५ हजार नौ सय १९ पुगेको छ । यसमा पनि व्यावसायिक पान लिएका करदाताको संख्या १८ लाख ७६ हजार ३ सय ५ र व्यक्तिगत पान लिनेको ३६ लाख ४९ हजार ६ सय १४ छ ।








