तिहारमा डेढ अर्ब रूपैयाँ बराबरको भाइ मसला आयात भएको छ । भाइपुजामा दिदीबहिनीले दाजुभाइलाई सगुनका रूपमा दिने मसलालाई भाइ मसला भनिन्छ । भाइपुजामा दिदीबहिनीहरूले आफ्नो दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएपछि सगुनका रूपमा नरिवल, काजु, बदाम, ओखर, किसमिस, छोकडा, पेस्तालगायतका भाइ मसला दिने चलन रही आएको छ ।
चालु आर्थिक वर्षमा गत वर्षको भन्दा भाइ मसला आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनामा १ अर्ब ५० करोड ३४ लाख ७१ हजार रूपैयाँको भाइमसला आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा भाइ मसला आयात १ अर्ब १५ करोड ६ लाख ५७ हजार रूपैयाँको भएको थियो । यो गत वर्षको तुलनमा ३४ करोड रूपैयाँ बढी हो ।



विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनामा नरिवल ३१ करोड मूल्यको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नरिवल १९ करोड मूल्यको आयात भएको थियो । यसैगरी ओखर ७६ करोड मूल्य बराबर आयात भएको छ । गत र्षको २५ करोड मूल्य बराबर आयात भएको थियो । यो वर्षको तीन महिनामा आयात ७६ करोड रूपैयाँले बढेको छ । त्यस्तै काजु १३ करोड बराबरको मात्रै आयात भएको छ ।
गतवर्ष ३० करोड मूल्यको काजु आयात भएको थियो । विभागको तथ्यांक अनुसार काजु गतवर्षको तुलनामा १७ करोड मूल्य बराबर घटेको छ । गतवर्ष थोरै मात्रामा भएको छोकडाको आयात यो वर्षमा केही बढेको छ । गत वर्षको असोज मसान्तसम्ममा ६ हजार रूपैयाँको मात्र छोकडा आयात भएकोमा यो वर्षको सोही अवधिमा २ लाख रूपैयाँ बराबरको आयात भएको छ । यस्तै बदामको आयात पनि बढेको छ ।
गत आर्थिक वर्षको सुरुको तीन महिनामा १४ करोड मूल्य बराबरको बदाम आयात भएको थियो । चालु आर्थिक वर्षको सुरुको तीन महिनामा १९ करोड बराबरको बदाम आयात भएको छ । यसैगरी किसमिस ९ करोड बराबरको आयात भएको छ । गत आर्थिक वर्षका तीन महिनामा ६ करोड रूपैयाँ बराबरको किसमिस आयात भएको थियो । यो गत वर्षको तुलनामा ३ करोडले बढी हो ।
त्यस्तै पेस्ता चालु आवको असोजसम्ममा ५ लाख रूपैयाा बराबरको आयात भएको छ । गत वर्षको सोही समयमा ८९ लाख बराबरबको पेस्ता आयात भएको थियो । गत वर्षको तुलनामा पेस्ता निकै घटेको तथ्यांकले देखाएको छ । यो गत वर्षको तुलनामा ८४ लाख रूपैयाँ बराबरको कम आयात हो ।








