साना उद्यमीलाई मेसिन किन्न ९० प्रतिशत अनुदान

२०८१ जेष्ठ १८, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौं– सरकारले लघु, घरेलु तथा साना उद्यमीलाई मेसिन किन्न ९० प्रतिशतसम्म अनुदान उपलब्ध गराउने भएको छ । परम्परागत सीपको प्रवद्र्धन र वस्तु उत्पादन वृद्धि गर्दै बजारीकरणका लागि सहयोग गर्न ल्याइएको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन तथा प्रविधि हस्तान्तरण कार्यविधिअनुसार यस्तो अनुदान उपलब्ध गराउन लागिएको हो । मन्त्रिपरिषद्बाट पारित भई लागु भइसकेको यो कार्यविधिअनुसार दुई लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ९० प्रतिशत रकम अनुदानमार्फत उपलब्ध गराइने छ ।

प्रविधि हस्तान्तरणका लागि सरकार वा स्थानीय तहले प्रस्ताव आह्वान गर्ने र स्वीकृत गर्दा प्रविधि खरिदका लागि उद्यमीलाई लागतका आधारमा अनुदान रकम उपलब्ध गराइने उल्लेख छ । यसअनुसार दुई लाखभन्दा माथि पाँच लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ८० प्रतिशत बराबरको रकम उपलब्ध गराइने उल्लेख छ । यस्तै, पाँच लाखभन्दा माथि र १० लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ७० प्रतिशत बराबरको रकम उपलब्ध गराइनेछ । १० लाखभन्दा माथि १५ लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ६० प्रतिशत बराबरको रकम र १५ लाखभन्दा माथि अधिकतम २० लाखसम्म लागत भएको प्रविधि खरिद गर्दा लागतको ५० प्रतिशत बराबरको रकम उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।

लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र वा स्थानीय तहले सञ्चालन गर्ने यो कार्यक्रममा उद्यमीले माग गरेको प्रविधिको स्पेसिफिकेसनको आधारमा प्रविधि खरिदका लागि प्रचलित सार्वजनिक खरिद कानुन बमोजिम लागत अनुमान तयार गर्ने व्यवस्था छ । तर, कुनै प्रस्तावदाताले माग गरेको प्रविधिको लागत अनुमान तयार गर्न नसकिने भएमा त्यस्तो प्रविधि खरिद प्रक्रिया अगाडि नबढाइने उल्लेख छ ।

कार्यविधिमा प्रविधि हस्तान्तरण भन्नाले उद्योगको सञ्चालन, विस्तार तथा स्तरोन्नति गर्नको लागि आवश्यक पर्ने मेसिन वा उपकरण वा औजार उपलब्ध गराउने वा खरिद गरिएको मेसिन वा उपकरण वा औजारका लागि अनुदान रकम उपलब्ध गराउने कार्य भनिएको छ । लघु, घरेलु तथा साना उद्योगमा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दा स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमको परिधिभित्र रही केन्द्रले क्षेत्र तोक्ने उल्लेख छ । जसको आधारहरुमा गरिबीको अवस्था, पूर्वाधार, लघु, घरेलु तथा साना उद्योगको संख्या, रोजगारीको अवस्था, उद्योगको लागि आवश्यक कच्चा पदार्थ, लागत साझेदारी, बजेटको सीमा समेतका आधारमा प्रविधि हस्तान्तरण गरिने प्रदेश, जिल्ला वा स्थानीय तह छनौट गर्नुपर्ने जनाइएको छ ।

उद्यमीले प्रविधि हस्तान्तरणको लागि रितपूर्वक प्रस्ताव पेश गर्नुपर्ने र प्राप्त हुने प्रस्तावको मूल्यांकन स्वतन्त्रपूर्वक हुने उल्लेख छ । उद्योगको सञ्चालन, विस्तार तथा स्तरोन्नति गर्न आवश्यक पर्ने मेसिन वा उपकरण वा औजार र सो सञ्चालन गर्न आवश्यक पर्ने विशेष प्रकारको सीप समेतलाई आधारमा यो निर्णय हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय