बाग्लुङ बजारमा पहिलो पटक दुनाटपरी उद्योग सञ्चालन

२०८० फाल्गुन ३०, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बाग्लुङ — बाग्लुङ बजारमा पहिलो पटक दुनाटपरी उद्योग सञ्चालनमा आएको छ । उद्यमशील मगर महिला समूह बाग्लुङ नगरपालिका–३ शान्तिटोलले हिजो मङ्गलवारदेखि दुनाटपरी उत्पादन गर्न थालेको छ । वनमा खेर गइरहेको सालको पातको सदुपयोग गर्दै दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको मगर महिला समूहले जनाएको छ ।

तीन लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको उद्योगको गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा र गण्डकी प्रदेशका प्रदेश सभा सदस्य कुसुम बुढाले उद्घाटन गर्नुभएको थियो । उद्घाटनपछि मन्त्री थापाले साना तथा घरेलु उद्योगलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन गर्ने बताउनुभयो ।

उहाँले महिला समूह मिलेर नेपाली समाजमा अत्यावश्यक रहेको दुनाटपरी उद्योग सञ्चालनमा ल्याएर आत्मनिर्भरको बाटोमा लागेकामा खुशी व्यक्त गर्नुभयो । धार्मिक कार्यका लागि महत्त्वपूर्ण मानिँदै आएको दुनाटपरी पछिल्लो समय अन्य प्रायोजनमा समेत प्रयोगमा आउन थालेको छ । दुनाटपरी रेस्टुरेन्टमा पनि प्रयोगमा आउन थालेको छ ।

२८ जनाको महिला समूहले बङ्गुरपालन व्यवसाय गर्दै आएकामा गएको वर्षको ‘अफ्रिकन स्वाइन फिभर’ फैलिएपछि दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको उद्यमशील मगर महिला समूहकी अध्यक्ष बलकुमारी पुनले जानकारी दिनुभयो । समूहले १५ लाख सङ्घीय सरकारको अनुदान र महिला समूहको सात लाख रुपैयाँ लगानीमा खाल्टेखेतमा बङ्गुरपालन गर्दै आएको थियो ।

गएको वर्ष ‘अफ्रिकन स्वाइन फिभर’ महामारीका कारण फार्ममा रहेका छ सय वटा बङ्गुर मरेपछि मगर महिला समूहले यस वर्ष दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको हो । अहिले महिला समूहले दुनाटपरी बनाउनका लागि प्रशिक्षण लिइरहेका छन् ।

महिला समूहकै खर्चले उद्योग सञ्चालनमा ल्याए पनि स्थानीय सरकारले वनमा खेर गएको सालको पात टिप्नका लागि सहजीकरण गर्न आवश्यक रहेको पुनको भनाइ छ । बाग्लुङ बजार आसपासमा खेर गएका सालका पातलाई दुनाटपरी बनाएर बजारमा पठाउन थालिएको छ । बाग्लुङको भीमगिठेमा यसअघि नै दुनाटपरी उद्योग सञ्चालनमा आएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय