झापामा ८८६ उद्योग दर्ता

२०८० श्रावण २१, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

झापामा आर्थिक वर्ष २०७९/८० मा ८८६ नयाँ उद्योग दर्ता भएका छन् । उद्योग दर्ता मात्रै नभएर १०१ उद्योग बन्द समेत भएका छन् ।

गत आर्थिक वर्ष २०७९/८० मा ८८६ नयाँ उद्योग दर्ता भएको छ । ती उद्योगमार्फत ४६७ महिला र ४६० पुरुष गरी ९२७ जना नयाँ उद्यमी थपिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका निमित्त प्रमुख उद्योग अधिकृत प्रेमप्रसाद सापकोटाले जानकारी दिए ।

गत आवमा उत्पादनमूलक १४४, कृषि तथा वन पैदावारमा आधारित ३६५ र सेवामूलक ३७० उद्योग दर्ता भएको थियो । यसले ९०७ महिला र एक हजार ११७ पुरुष गरी दुई हजार २४ जनाका लागि रोजगारी खुलाएको उनले बताए । दर्ता भएका सबै उद्योगको स्तर साना प्रकृतिका रहेको उनको भनाइ छ ।

झापामा उद्योग दर्ताको संख्या आव २०७८/७९ को तुलनामा करिब ६० प्रतिशत घटेको घरेलु तथा साना उद्योग कार्यालय झापाका कर्मचारी चन्द्र पौडेलले जानकारी दिए । अघिल्लो आव २०७८/७९ मा एक हजार नौ सय ८८ नयाँ उद्योग दर्ता भएका थिए । आव २०७४÷७५ यता ६ वर्षको अवधिमा झापामा २५ हजार ६९७ उद्योग दर्ता भएको उनले बताए ।

त्यसैगरी घरेलु तथा साना उद्योग कार्यालय झापामा आव २०७९/८० मा ६६८ उद्योगले नवीकरण, ३३ वटाले नामसारी, आठवटाले ठाउँसारी, ३८ वटाले उद्देश्य थप, २४ वटाले सुविधाको सिफारिस, ५६ वटाले प्रतिलिपी, एक सय ३३ वटाले पुँजी थप र सात वटा उद्योगले नाम परिवर्तन गरेको उनले जानकारी दिए । उक्त अवधिमा दुई सय ५६ उद्योगको निरीक्षण समेत गरिएको उनको भनाइ छ ।

आव २०७९/८० मा वाणिज्यतर्फ ६०१ फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय झापाका कर्मचारी चन्द्र पौडेलले जानकारी दिए । गत आव २०७८/७९ मा जिल्लामा एक हजार २२० नयाँ फर्म दर्ता भएका थिए । आव २०७४/७५ यता ६ वर्षको अवधिमा झापामा १८ हजार एक सय ४८ फर्म दर्ता भएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय झापामा आव २०७९/८० मा वाणिज्यतर्फ ६ सय २७ फर्मको नवीकरण, २५ वटाको उद्देश्य थप, ११२ ले पुँजी वृद्धि, पाँच वटाले नामसारी र ४६ वटा फर्मले प्रतिलिपि लिएको उनले बताए ।

उद्योग र वाणिज्यतर्फ गरी घरेलु तथा साना उद्योग कार्यालय झापाले आव २०७९/८० मा एक करोड ८० लाख ६ हजार राजस्व समेत संकलन गरेको छ । उद्योगतर्फ ९८ लाख ४४ हजार आठ सय र वाणिज्यतर्फ ८३ लाख ६१ हजार चार सय गरी एक करोड ८० लाख राजस्व संकलन गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय