हस्तकलाको कारोबार २५ अर्ब, १२ अर्बकाे निकासी

२०८० पुष २, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 4 मिनेट

नेपालको प्रमुख निकासीजन्य वस्तु हस्तकलाको आन्तरिक खपत पनि उत्तिकै बढ्न थालेको छ । हस्तकला व्यवसायीहरुका अनुसार सामाजिक संस्कार अनुसार जन्मदेखि मृत्युसम्म हस्तकलाजन्य सामग्रीकै प्रयोग हुने र पछिल्लो समय व्यापार व्यवसायमा पनि नेपाली कला–संस्कृति झल्काउने सजावट गर्ने संस्कृतिको विकास हुँदा यो क्षेत्र फस्टाउने क्रममा छ ।

नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार यो क्षेत्रको वार्षिक कारोबार २५ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ । महासंघका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा झन्डै १२ अर्ब रुपैयाँँका हस्तकला निर्यात भएकोमा सोही हाराहारीमा आन्तरिक बजारमा खपत भएको अवस्था छ । आन्तरिक बजारमा खपत तथा विदेशी पर्यटकले नेपाल आउँदा खरिद गर्ने हस्तकलाजन्य सामग्री समेतको एकीकृत तथ्यांक राख्ने हो भने वार्षिक २५ अर्बभन्दा बढी रहेको महासंघ अध्यक्ष प्रचण्ड शाक्य बताउँछन् ।

उनका अनुसार मुलुकमा प्रतिदिन व्यापार घाटाले बढ्दो चुनौती थपिरहेका बेला हस्तकला क्षेत्रले निर्यात व्यापारबाट विदेशी मुद्रा आर्जनसँगै आयात प्रतिस्थापनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ । हस्तकला महासंघका अनुसार गत आर्थिक वर्षमा नेपालबाट भएको निकासी व्यापारमा २१ प्रतिशत कमी आइरहँदा पनि करिब १२ अर्बको हस्तकलाका वस्तु निकासी भएको छ ।

‘निकासीकै अनुपातमा आन्तरिक व्यापार तथा अनौपचारिक अर्थात् विदेश जाने व्यक्तिहरुले उपहारमा लैजाने लगायतका बिक्रीको एकीकृत तथ्यांक राख्ने हो भने झण्डै २५ अर्ब बराबरको राष्ट्रिय अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान छ,’ महासंघ अध्यक्ष शाक्य भन्छन्, ‘अनौपचारिक कारोबारले गर्दा पनि नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा यस क्षेत्रको योगदान उल्लेखनीय रुपमा नदेखिएको अवस्था छ ।’

हस्तकला क्षेत्रमा विशेष गरी स्वदेशी कच्चा पदार्थको प्रयोग नै बढी गर्ने गरेको छ र यसबाट स्वदेशी श्रम र सीप समेतको मूल्य अभिवृद्धि हुँदा निर्यात क्षेत्रमा यो विकल्प रहित वस्तुका रुपमा विकास भइरहेको छ । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष गरी वार्षिक ११ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको महासंघको भनाइ छ ।

उचित कानुनी व्यवस्था तथा त्यसको कार्यान्वयन एवं पूर्वाधार विकास, प्रोत्साहन एवं निर्यात मैत्री व्यापार नीति हुने हो भने अहिलेको निकासी व्यापार र आन्तरिक रोजगारीलाई दोब्बर वृद्धि गर्न सकिने र हस्तकला उद्योग व्यवसायलाई कृषिपछि देशभर विस्तार गर्न सकिने अध्यक्ष शाक्य बताउँछन् । हस्तकला क्षेत्रको प्रवद्र्धनका निमित्त महासंघले २०४८ सालदेखि नै प्रत्येक वर्ष हस्तकला व्यापार मेला आयोजना गर्दै आएको छ ।

यो व्यापार मेला सञ्चालनका लागि नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रबाट बर्सेनि सहयोग रहेको छ । हस्तकला व्यापार मेलाको २० औं संस्करण सम्म आइपुग्दा हस्तकलाको सामूहिक बजारीकरणका लागि पनि मेला निकै सहयोगी सावित हुँदै आएको छ । हस्तकला आफैंमा मौलिक सिर्जना मात्र नभई देशको बढ्दो व्यापारघाटा कम गर्न सहयोग पुर्‍याउने सक्ने क्षेत्रको रुपमा पनि यो मेलाले घनिभूत बहस सिर्जना गर्ने अपेक्षा रहेको छ ।

हस्तकला क्षेत्रले आन्तरिक रुपमा लाखौंको संख्यामा रोजगारी सिर्जना गरी रहेको तथा नेपाल आउने पर्यटकले आफ्नो मुलुक फर्किंदा नेपालको चिनोका रुपमा लैजाने मायाको चिनोको रुपमा पनि हस्तकला वस्तुले नेपाललाई विश्वसामु चिनाइरहेको छ । सार्वजनिक निजी साझेदारी अवधारणामा यो मेलासहित नेपाल गुणस्तर तथा नापतौल विभागमा हस्तकला परीक्षण प्रयोगशाला पनि सञ्चालन भइरहेको छ । अब यस क्षेत्रको दिगो विकासका लागि अझ हातेमालो गर्ने बेला आइसकेको सरोकारवालाहरु बताउँछन् ।

उद्योग विभागको परिसर त्रिपुरेश्वरमा निर्माण सम्पन्न भ सकेको सार्क हस्तकला विकास केन्द्र चाँडै सञ्चालन हुनेमा महासंघ आशावादी रहेको अध्यक्ष शाक्यको भनाइ छ । हस्तकला क्षेत्रको दीर्घकालिन विकासका लागि २ दशकभन्दा अगाडिदेखि नै व्यवसायीहरुले हस्तकला ग्राम स्थापनाको लागि नेपाल सरकार समक्ष पैरवी गर्दै आइरहेका थिए । यसको लागि ७ वटै प्रदेशमा ती प्रदेशमा रहेका स्थानीय हस्तकलाको प्रकृति अनुसारका हस्तकला ग्राम स्थापनाको लागि सरकारसँग आग्रह गरिएको महासंघको भनाइ छ ।

२० औं हस्तकला व्यापार मेलाको रौनक
२० औं हस्तकला व्यापार मेलामा १०० भन्दा बढी स्टल रहेका छन् । मेलामा ‘प्रडक्ट प्याभिलियन’ लाई यस पटक महत्वका साथ राखिएको छ । जसमध्ये मेलामा बागमती प्रदेश पेभिलियन, महिला उद्यमी पेभिलियन लगायत जम्मा ५ वटा पेभिलियन रहेका छन् । नेपाली हस्तकला वस्तुको बजार प्रवद्र्धनको लागि एकै थलोमा सबै प्रकारका हस्तकलाका वस्तुहरु प्रदर्शन हुनाले व्यापारिक क्रेताहरुलाई वस्तु खरिदमा यो मेलाले ठूलो सघाउ पुर्‍याउन सक्ने मेलाका रुपमा स्थापित भएको छ ।

हस्तकलाका सबै विधा एकै स्थानमा खरिद गर्नको लागि अन्तर्राष्ट्रियस्तरको व्यापार मेला ‘क्यालेन्डर इभेन्ट’ को रुपमा आयोजना हुने गरेको सन्देश पनि दिएको छ । मेलामा करिब एक लाख आगन्तुकले अवलोकन गर्ने अपेक्षा गरिएकोमा करिब बीस हजार नि:शुल्क प्रवेश पासको व्यवस्था गरिएको छ । क्यूआर कोडमार्फत पनि नि:शुल्क प्रवेश पासको व्यवस्था रहेको छ ।

मेलाको प्रमुख आकर्षणको रुपमा १८ औं हस्तकला जीवन्त प्रतियोगिता रहेको छ । यो प्रतियोगिता यस वर्ष परम्परागत विधातर्फ पौभा कला र समसामयिक विधामा छवाली कला तयार गर्ने प्रतियोगता रहेका छन् । यस प्रतियोगितामा प्रथम, द्वितीय र तृतिय हुने कलाकारहरुलाई पदक सहित क्रमश: ५० हजार, ३० हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

मौलिक हस्तकला साँघुरो घेरामा
नेपाल परम्परागत कला र संस्कृतिमा मात्र नभई मौलिक हस्तकला उत्पादनमा पनि अग्रणी छ । यहाँका उत्पादन संसारमै पृथक नमुनाका रूपमा स्वीकार गरिन्छ । खासगरी फेल्ट, धातुकला, पस्मिना, काष्ठकला, पेपर क्राफ्टलगायतका नेपाली उत्पादन विश्वमा निकै लोकप्रिय छन् । नेपाली उत्पादन अमेरिका, युरोप, जापान तथा क्यानडालगायतमा मुलुकमा लोकप्रिय मानिन्छन् ।

ती मुलुकबाट नेपाल आउने पर्यटकको रोजाइमा पनि हस्तकला सामग्री पर्ने गरेका छन् । तर, नेपाली हस्तकला अझै पनि आमउत्पादन (मास प्रडक्सन) को तहसम्म पुग्न सकेको भने छैन । त्यसैले मौलिक हस्तकला साँघुरो घेरामा सीमित छ । तर, मुलुकभित्र उपलब्ध साधनस्रोतको अवस्था हेर्दा यो अथाह सम्भावना भएको क्षेत्र हो भन्नेमा सन्देश छैन । शतप्रतिशतभन्दा बढी नै भ्यालु एड गर्न सकिने र अरूले सहजै नक्कलसमेत गर्न नसक्ने भएकाले पेटेन्ट राइटसमेत लिन सकिने भए पनि यसको प्रवर्द्धन भने प्रभावकारी रूपमा हुन सकेको पाइँदैन ।

त्यसो त सरकारले हस्तकला नीति नबनाउँदा व्यवसाय प्रवर्द्धन र उत्पादित सामग्री प्रचारमा समस्या हुने गरेको गुनासो व्यवसायीको छ । नेपाल हस्तकला महासंघले वार्षिक हस्तकला व्यापार मेला आयोजना गरेर प्रवद्र्धनात्मक काम गरिरहेको छ । त्यसो त हस्तकला व्यवसाय आफैंमा प्राविधिक कामसमेत हो । नेपालमा यो व्यवसायका लागि चाहिनेभन्दा निकै थोरै मात्रै जनशक्ति उपलब्ध भएकाले तालिमलगायत उत्पे्ररणाको खाँचो छ ।

हस्तकलामा वित्तीय पहुँच पुग्नै कठिन
नेपाली बैंक तथा वित्तिय संस्थाको खोजी लिस्टमा हस्तकला पर्न सकेको छैन । राम्रो नाफा आर्जन हुने क्षेत्रबाट सहजै बैंकको कर्जा असुल हुने देखिए पनि हस्तकला ठूलो परिमाणमा उत्पादन गर्न नसक्नु तथा स्वदेशमा पनि खपतका लागि प्राथमिकतमा पर्न नसक्दा अपेक्षा गरेबमोजिम यस क्षेत्रले वित्तिय पहुँच पाउन सकेको छैन ।

पछिल्लो समय कर्जा दरमा आएको वृद्धिमा पनि हस्तकला क्षैंत्रले बैंकबाट ऋण लिएर व्यवसाय गर्ने भन्दा पनि भएको व्यवसायलाई भरथेग गर्ने मात्रै काम गरेका छन् । ठूलो परिमाणमा उत्पादन गर्न नसक्दा विश्वका विभिन्न मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न पनि नेपाली उत्पादनलाई कठिन भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय