अन्तर्राष्ट्रिय स्तरका व्यापार मेलाका लागि प्रदर्शनी स्थल बनाउन माग

२०८० मंसिर १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

व्यवसायीहरुले अन्तर्राष्ट्रिय स्तरका व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल तत्काल बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ९औं अन्तर्राष्ट्रिय व्यापार मेलामा बोल्दै व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।

उनीहरुले नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल नभएकाले व्यवसायीहरुले विभिन्न समस्या भोग्नुपरेको बताए । व्यवसायीहरुले सरकारसँग विगत लामो समयदेखि माग गर्दै आएपनि प्रतिवद्धताअनुसार अहिलेसम्म काम गर्न नसकेको गुनासो गरे । उनीहरुले सरकारले नेपाली उत्पादनको निर्यात वृद्धिको लागि अन्तर्राष्ट्रिय स्तरमा गुणस्तरीय व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल नबनाए निजी क्षेत्र आफैँ बनाउन सक्षम रहेको उल्लेख गरे ।

यस्तै नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नेपालमा उपयुक्त स्तरिय प्रदर्शन स्थल नहुँदा मेला र महोत्सव आयोजनाको क्रममा धेरै समस्या भोग्नुपरेको गुनासो गरे । उनले व्यापार मेला गर्ने स्तरीय प्रदर्शनी स्थल बनाउन बारम्बार सरकारसँग माग गरेपनि अहिलेसम्म सुनुवाई हुन नसकेको गुनासो गरे । उनले सरकारले तत्काल अन्तर्राष्ट्रिय स्तरको गुणस्तरिय व्यापार मेला आयोजना गर्ने स्तरीय प्रदर्शनी स्थल बनाउन आवश्यक रहेको बताए ।

उनले औद्योगिक व्यापार मेलाहरुको आयोजनाहरुमा उद्योग वाणिज्य संघ संस्थाबाहेक अन्य संस्थाहरुलाई रोक लगाउन पनि सरकारसँग माग गरे । उनले भारत र चीनसँगको व्यापार घाटा नेपालको लागि टाउको दुखाई बनेकाले भन्दै नेपालले निर्यात बढाउनुको विकल्प नभएको बताए । उनले निर्यात बढाउन अन्तर्राष्ट्रिय व्यापार मेलाहरु हुन आवश्यक रहेको बताए । उनले नेपाली उत्पादनहरुको प्रदर्शनी नेपालमा मात्रै सिमित नगरी विदेशमा पनि पुर्‍याउनुपर्ने चुनौती रहेको उल्लेख गरे ।

त्यस्तै महासंघका पूर्वअध्यक्ष चण्डराज ढकालले पनि नेपालमा व्यापार मेलाहरुलाई स्थिर रुपमा अगाडि बढाउनको लागि स्थायी प्रदर्शनी भवन काठमाडौं र प्रदेशहरुमा भवन बनाउन आवश्यक रहेको बताए । उनले सरकारसँग उद्योगी व्यवसायीहरुले निरन्तर रुपमा माग गर्दै आएपनि अहिलेसम्म सम्बोधन नहुनु सुखद् पक्ष नभएको उल्लेख गरे । उनले नेपालको उत्पादनलाई बजारमुखी बनाउने गरी निर्यात प्रवर्द्धन गर्न र गुणस्तर उत्पादनलाई छिमेकी देशका उत्पादनसँग प्रतिष्पर्धा गर्दै अन्तर्राष्ट्रिय बजारको हिंसा बनाउन प्रदर्शनी स्थल महत्वपूर्ण पूर्वाधारहरु भएको बताए ।

उनले सरकारले विगतदेखि बनाउने प्रतिवद्धता आएका भएपनि प्रतिवद्धताले पूर्णता पाउन नसक्दा ठाउँ–ठाउँमा बासको बार बारेर मेला महोत्सव गर्नुपर्ने अवस्था रहेको भन्दै यो विषयमा सरकार गम्भीर हुन जरुरी रहेको बताए । उद्योगी व्यवसायीहरुले स्तरीय प्रदर्शन स्थल बनाउनको लागि सरकारले काठमाडौंको सेता पुलमा ९ रोपनी र चोभारमा जमिन तयार पारेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव मुकुन्दप्रसाद निरौलाले बताए ।

उनले निजी क्षेत्रसँग चाँडै छलफल गरेर दुईमध्ये कुन स्थानमा बनाउने विषय टुङ्गो लगाउने बताए । उनले सरकार प्रदर्शनीको नेपाल उत्पादनहरुको प्रदर्शनीको लागि मेला महोत्सव स्थल निर्माण गर्न प्रतिवद्ध रहेको बताए । उनले त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए । महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय व्यापार मेलामा पाँच दिनसम्म चल्नेछ । मेलामा नेपाली मौलिक उत्पादनबाट बनेको समग्रीदेखि भारत, चीन, बंलादेशमा बनेको वस्तुहरुको समेत प्रदर्शनी स्टल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय