क्रिकेटका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा विराटनगरका युवा उद्योगी पारस लुनियाले सञ्चालन गरेको मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी केवल उद्योगलाई कारबाहीको माग राख्दै स्थानीयले प्रशासनमा उजुरी दिएका छन् ।
उद्योगबाट रसायनयुक्त प्रदूषित पानी खेतीण्योग्य जमिनमा पसेर कृषकको उब्जाउ जमिन बाँझो भएको भन्दै स्थानीयले कारबाहीको माग राख्दै उजुरी दिएका हुन् । केमिकलयुक्त दूषित पानी खेतीयोग्य जमिनमा पसेर बाँझो हुनुका साथै दुर्गन्धले बस्न नसक्ने अवस्था सिर्जना भएको भन्दै स्थानीयले कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय र बूढीगंगा गाउँपालिकामा उजुरी दिएका हुन् ।



उद्योगलाई पटकपटक लिखित र मौखिक रूपमा केमिकलयुक्त दूषित पानी खेतीयोग्य जमिनतिर नफाल्न आग्रह गर्दा पनि कुनै सुनवाइ नगरेपछि कारबाहीका लागि उजुरी दर्ता गराएको स्थानीय विमला शर्माले बताइन् । शर्माको बूढीगंगा–३ मा तीन बिघा जमिन छ । उनले जग्गामा सिजनअनुसारको बाली लगाउने गरेकी थिइन् । वर्षमा उनले तीन बाली भित्र्याउने गरेकी थिइन् ।
उद्योगका कारण केही वर्षयतादेखि उनको खेतीयोग्य जमिन बाँझो छ । ‘उद्योगबाट केमिकल मिसिएको दूषित पानी खेतीयोग्य जमिनामा पसेपछि बाली नष्ट हुने गरेको छ,’ उनले भनिन्, ‘हामीले पटकपटक भनिसक्यौं । छलफल पनि भयो । तर, उद्योगबाट निस्किने फोहर पानी खेतीयोग्य जमिनमा पठाउन छोडेन ।’ जुनसुकै बाली लगाए पनि उद्योगबाट निस्किएको केमिकल भएको पानी खेतीमा पसेपछि बाली सुकेर मर्ने गरेको उनको भनाइ छ ।
यस विषयमा बूढीगंगा गाउँपालिका र उद्योग संगठनमा पटक–पटक छलफल हुँदा पनि अहिलेसम्म उद्योगले केमिकलयुक्त पानी खेतबारीतिर फाल्न छोडेको छैन । ‘हामीले उद्योगबाट निस्किने केमिकल भएको फोहर पानी व्यवस्थित गर्न पटक–पटक छलफलमा भनेका छौं । अहिलेसम्म कुनै सुनवाइ भएन,’ शर्माले भनिन्, ‘त्यही भएर धानबाली पनि लगाउन छोडियो ।’ उत्पादन नहुने भएपछि खेती लगाउनुको अर्थ नभएको उनको भनाइ छ ।
खेतमा लगाएको धान उद्योगबाट निस्किएको केमिकल मिसिएको पानीले मारिदिएको स्थानीयको भनाइ छ । जसको कारण बाली लगाउँदा लागतमात्र खेर जाने गरेको उनीहरू बताउँछन् । उद्योगकै कारण आसपासको धेरै जमिन बाँझै रहेको स्थानीयले बताए । लुनियाले सञ्चालन गरेको उद्योग विराटनगर–इटहरी सडक खण्डमा जोडिएको बूढीगंगा–३ गोकुवा चोकमा रहेको छ ।
उद्योगबाट निस्कने केमिकल भएको पानी मात्र नभएर कालो धुलोले स्थानीयवासी र यात्रीलाई सास्ती हुने गरेको स्थानीय बताउँछन् । उद्योगबाट बूढीगंगा–३ का स्थानीय बासिन्दा बढी समस्यामा परेका छन् । धँुवाको कारण राजमार्ग भएर आवातजावत गर्ने सर्वसाधारण पनि हैरान छन् । समस्या समाधान नभए उद्योगीविरुद्ध कडा आन्दोलनमा उत्रिने अर्का स्थानीय सुरेश बस्नेतले चेतावनी दिए ।source:Karobar








